माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु – Nagarikabhiyan : National News

माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु

नयाँदिल्ली । भारतको छत्तीसगढस्थित बीजापुरमा  माओवादी र सरकारी फौजबीच भीषण भिडन्त भएको छ । भिडन्तमा २२ सरकारी जवानको ज्यान गएको छ ।

नक्सल अपरेशनका डीजी अशोक जुनेजाले सरकारी फौजमा भएको हताहतीबारे जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘घटनास्थलमा पुगेको सुरक्षाबलले आज २० शव बरामद गरेको छ । माओवादीहरूले आफ्ना घाइते साथीहरूलाई तीनवटा ट्याक्टरमा लादेर लगेको थाहा भएको छ ।’

पछिल्लो भिडन्त शनिबार भएको हो । बीबीसी हिन्दीका अनुसार भिडन्त भएको स्थानबाट एक किलोमिटर वरपरसम्म सरकारी जवानको शव यत्रतत्र छरिएको थियो । विद्रोहीसँग मुठभेड हुँदा मारिएका जवानहरूको शव लिन भारत सरकारले स्पेशल टास्क फोर्स नै परिचालन गरेको छ ।
विद्रोहीहरूले गरेको पछिल्लो हमलालाई छत्तीसगढमा केही वर्षयता भएको सबैभन्दा घातक मानिएको छ । भारतका गृहमन्त्री अमित शाह र छत्तीसगढका मूख्यमन्त्री भूपेश बघेलले माओवादीसँग भएको जवानहरूको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीटरमा लेखेका छन्, ‘छत्तीसगढमा माओवादीसँग लड्दालड्दै शहीद भएका जवानका परिवारप्रति मेरो समवेदना छ । वीर शहीदहरूको बलिदान कहिल्यै भुलिने छैन, घाइतेहरूको स्वास्थ्यलाभको कामना !’ छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले करिब चार घण्टासम्म माओवादी र सरकारी सुरक्षाबलबीच भिडन्त भएको जानकारी दिए । उनका अनुसार एक जवान अहिले पनि हराइरहेका छन् ।