बेरोजगारी समस्याको समाधान नेपालमा कहिले हुने ? – Nagarikabhiyan : National News

बेरोजगारी समस्याको समाधान नेपालमा कहिले हुने ?

देश बनाउन सबै एकजुट हुनु पर्छ । हामी नेपाली जनता एकजुट नभएसम्म देशको विकासले गति लिन सक्दैन । देशमा बेरोजगारी समस्या दिन प्रतिदिन बढदै गएको छ । यसको समाधान नै अहिलेको प्रमुख आवश्यकता हो ।

बेरोजगारी समस्याले सबैलाई पिरोलेको छ । बेरोजगारी समस्या गम्भिर चुनौतीको रुपमा खडा भएको छ । यो चुनौतीलाई पार गर्न जरुरी छ ।अहिले देशमा जुन किसिमले बेरोजगारी समस्या देखिएको छ, यसको छिटो हल गरिनु पर्छ ।  बेरोजगारी समस्या समाधान गर्नु पर्ने दायित्व सरकारको हो ।

सरकारलाई सबै नेपाली जनताले सहयोग गर्नु पर्छ । सरकारको एकल प्रयासले मात्र केही हुँदैन । सरकारलाई गाली गरेर मात्र हुँदैन ।आज मुलुक भित्र लाखौँ लाख शिक्षित युवायुवतीहरु बेरोजगार छन् । यो समस्या गम्भिर हो । कैयौँ युवायुवतीहरु स्वदेशमा आफनो भविष्य नदेखेर विदेश पलायन छन् । युवा जनशक्तिहरुलाई विदेश पठाएर देशको विकास हुन सक्दैन ।

 

देश रेमिट्यान्सले चल्ने मात्र भएको छ ।  अहिले देखिएको यो हो । युवा जनशक्ति विदेश पलायन हुनु भनेको उनीहरुको रहर होइन, त्यो त बाध्यता हो । धेरै युवायुवतीहरु खाडी मुलुकतिर श्रम गर्न बाध्य छन् । युवा जनशक्तिको अभावले ग्रामीण भेगतिर खेतबारीहरु बाँझा छन् ।खेतीपाती गर्ने मान्छे नभएपछि कृषि उत्पादन घट्दो छ । अहिले देखिएको के छ भने गाउँमा धेरैको घरमा वृद्धवृद्धा मात्र बाँकी छन् । बेरोजगार र आर्थिक रूपमा विपन्न समुदायको समस्या ज्युँका त्युँ छन् ।

 

बेरोजगार र गरिव जनताका समस्या बढेको बढै छन् । नेताहरु उनीहरुलाई अगाडि देखाएर सत्तास्वार्थको भर्याङ चढ्ने गर्छन् । राजनीतिक दल र तिनका नेताहरु अब इमान्दार देखिनु पर्ने बेला आएको छ । यसरी देश चल्दैन । सत्तामा पुगेपछि सबैकुरा बिर्सने प्रवृत्ति नेताहरुमा हावी भयो । देशमा गरिवीको संख्या बढिरहेको छ । दैनिक कमाएर बिहान–बेलुकाको छाक टार्नसमेत धौ-धौ छ । युवालाई कृषि कर्ममा लगाउन सकियो भने विदेसिने पैसा स्वदेशमै रोक्न सकिन्छ ।

 

अब राज्यले दीर्घकालीन योजना बनाएर युवालाई सीपमूलक शिक्षामा जोड दिनु पर्छ  अब यो कुरामा कुनै ढिलाई गर्नु हुँदैन । सरकारी निकाय तथा निजी क्षेत्रले स्वदेशमा रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नु पर्छ । मानिसलाई बाँच्नका निम्ति गाँस, बास र कपास अत्यावश्यक बस्तु हुन् । यी कुराको जोहो गर्न रोजगारी चाहिन्छ ।  देशमा बेरोजगारको स्थिति भयावह बन्दै गएको छ । रोजगार गुमाएका आम श्रमिकहरूका लागि सरकारले रोजगारको वैकल्पिक उपाय खोज्नु पर्ने जरुरी देखिएको छ । जुन देशमा जनशक्तिको अभाव हुन्छ, त्यो देशको उत्पादनमा कमी आउँछ । यसको मुख्य कारण देशमा उत्पादन नहुनु र उत्पादन गर्ने जनशक्ति पलायन हुनु हो ।

 

देशमा भएका जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न स्वदेशमै रोजगारीका अवसर सृजना गर्नु पर्छ । नेपालमा भएका जनशक्तिको सदुपयोग गरेर सरकारले धेरै फाइदा लिन सक्नु पर्दथ्यो । खै त्यतातिर ध्यान दिएको ? अब सरकारले स्वदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा ध्यान दिनु पर्छ । हामीले देखिरहेका छौं, अहिले स्वदेशमा दक्ष जनशक्तिको अभाव छ । यो सत्य कुरा हो । नेपालका विभिन्न ठाउँमा पर्यटनको ठूलो सम्भावना रहेको छ । त्यसो भएकोले नेपालमा पर्यटकीय स्थल विस्तार गर्ने कुरामा सरकारको ध्यान जानु पर्ने जरुरी देखिन्छ । त्यसैगरि कृषि वा पशुपालनमा युवाहरुलाई आकर्षित गर्ने खालका योजना तर्जुमा गर्नुपर्ने आजको आवश्यकता पनि हो ।

डा.डीआर उपाध्याय