भविष्यमा आउन सक्ने महामारीलाई समयमै रोक्न २३ मुलुकको यस्तो छ योजना – Nagarikabhiyan : National News

भविष्यमा आउन सक्ने महामारीलाई समयमै रोक्न २३ मुलुकको यस्तो छ योजना

एजेन्सी 

काठमाडौं ।  भविष्यमा आउने महामारीलाई समयमै रोक्न र उत्पन्न हुन सक्ने महामारी विरुद्ध लड्न विश्वका २३ मुलुक र विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय सन्धिको योजनामा सहमत भएका छन् ।

हाल कोरोना भाइरस (कोभिड–१९) को महामारीजस्तै अन्य कुनै महामारी निस्किन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सन्धी आवश्यक रहेको निष्कर्षसहित विश्वका २३ मुलुकले यसमा सहमति जनाएका हुन् ।

उक्त सन्धीअनुसार महामारी नियन्त्रणको लागि विश्वभर समानरुपमा औषधि, खोप र अन्य स्वास्थ्य सामग्री पुर्‍याउनु पर्नेछ । कुनै पनि महामारी एकल प्रयासमा समाधान हुन नसक्ने भएकाले सबै मुलुक यसमा सहभागी हुनुपर्ने उनीहरुको भनाइ छ ।

यो सन्धीको उद्देश्य भविष्यमा कुनै महामारी उत्पन्न हुन लागेको अवस्थामा राम्रो सूचना प्रणाली, विवरणहरु शेयर गर्ने, खोप उत्पादन तथा वितरण, औषधि र पीपीईलगायतका स्वास्थ्य सामग्रीहरु पुर्‍याउनु रहेको छ ।

कोरोना महामारीले विश्वका सबै मानिसहरु सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित हुँदैनन् भन्ने देखाइसकेकाले समयमा नै विश्वका सबै मुलुकबाट महामारी हटाउन उक्त अन्तराष्ट्रिय सन्धीले महत्वपूर्ण भूमिका निर्वाह  गर्नेछ ।