मलाई दानवको रुपमा चित्रित गर्न खोजियो : ओली
७ चैत्र २०७७, शनिबार १३:५०
काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नराम्रो मात्र देखाउन खोजेको बताएका छन्। बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले पार्टीका नेताहरुले नै आफूलाई दानवको रुपमा चित्रित गर्न चाहेको गुनासो गरे।
‘माधवजीले मलाई दानवको रुपमा चित्रित गर्न मात्र चाहेको देखिन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने। ओलीले नेता माधवकुमार नेपालले आफूसँग उल्लेख्य कुरा गर्न नचाहेको बताए। केही दिनअघि अध्यक्ष ओली र नेता नेपाल पक्षबीच पार्टी मुख्यालय धुम्बाराहीमा भेटवार्ता भएको थियो। उक्त भेटवार्तामा नेपाल उल्लेख्य रुपमा आफूसँग नखुलेको उनले बताए।
ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी एकताको पक्षमा नलाग्न आग्रह पनि गरे। एकताको पक्षमा लागेर केही उपलब्धि नहुने उनको भनाइ थियो। ओलीले वरिष्ठ नेता खनाल र नेपाल पक्षले एकता नचाहेको जिकिर गरे। ‘एकताको पक्षमा लागेर केही हुन्न। उनीहरु एकता चाहँदैनन् भन्ने कुरा अब त बुझ्नुभयो होला। अब त्यता नलाग्नोस्,’ ओलीको भनाइ उद्धृत गर्दै ती सांसदले भने। लाेकपाटीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया