राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री नेपाल र खनाल नजाने – Nagarikabhiyan : National News

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री नेपाल र खनाल नजाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल नजाने भएका छन्।

खनाल र नेपाल राष्ट्रपतिले बोलाएको बैठकमा सहभागी नहुने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले बताए । रिजालका अनुसार बुधबार र बिहीबारको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने भएकाले राष्ट्रपति कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुन नभ्याउने भएका हुन् ।

पूर्वप्रधानमन्त्रीको हैसियतमा राष्ट्रपति भण्डारीले शीतल निवासमा आज खनाल र नेपाललाई सर्वदलीय बैठकमा सहभागी हुन बोलाएकी हुन् । राष्ट्रपति भण्डारीले समसामयिक राजनीतिक विषयवस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई मंगलबार अपरान्ह ४ बजे शीतलनिवासमा बोलाएकी छन् ।

राष्ट्रपति भण्डारीले दलहरुबीच पछिल्लो समय सत्ता समीकरणका लागि एक अर्काबीच छलफल भइरहेका बेला सर्वदलीय बैठक डाक्नुलाई चासोका साथ हेरिएको छ ।