प्रदेश स्तरीय लोककला कार्यशाला सुरु
१ चैत्र २०७७, आईतवार १९:३०
अजमल अन्सारी । इनरुवा
सुनसरीको सदरमुकाम इनरुवामा प्रदेश १ स्तरीय लोककला कार्यशाला सुरु भएको छ । नवयुग बहुउदेश्य सामुदायिक सिकाई केन्द्र बलाहाको संयोजन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना र इनरुवा नगरपालिकाको सहयोगमा प्रदेशभरीका लोककलाका जानकार र श्रष्टाहरुको सहभागितामा कार्यशाला सुरु भएको हो । प्रदेश १ स्तरीय लोककला कार्यशालाको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपती के.के कर्माचार्यले उद्घाटन गर्नुहुदै सबै समुदायको आआफ्नो लोककला रहेको र मौलिक लोककलाहरु संरक्षण गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । वहाँले लोककलाको संरक्षण र प्रचारप्रसारका लागि प्रदेश स्तरीय तीन दिने लोककला कार्यशाला आयोजना गरेको बताउनुभयो । आइतबार सदरमुकाम इनरुवामा समुद्घाटन समारोहमा वहाँले लोककलाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ तीनदिने लोककला प्रशिक्षण, कार्यशाला गरेर प्रदेशभरीका श्रष्टाहरुलाई एक ठाउँमा ल्याउने काम भएको बताउनुभयो ।
कार्यशालाको समुद्घाटन गर्नुह्दै इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले लोककला र साहित्यको विकासमा लागि आफू तयार रहेको बताउनुभयो । संविधानमा पनि लोककला तथा संस्कृतिको संरक्षण गर्ने भनिएकाले इनरुवा नगरपालिका सदैव लागिपर्ने पनि बताउनुभयो ।
समाजलाई अगाडि बढाउनको लागी यस्ता कार्यक्रमको आयोजना गर्नु पर्ने भएकाले मैथिली, थारु, उराँव, किसान, भोजपुरी सहित विभिन्न भाषा भाषीको भाषालाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्राज्ञ जिवनाथ पोखरेलले स्थानीय लोककलाको विकासका लागि प्रतिष्ठानले देशैभर काम गरिरहेको र यसपटकको कार्यक्रमले इनरुवालाई चिनाउन सहयोग गर्ने गरी ल्याएको बताउनुभयो । लोककला कार्यशालाबाट सिकेर आफ्ना कलालाइ विश्वमा चिनाउन, उजागर गर्न र यसलाई अगाडि बढाउन योगदान गर्ने पोखरेलले बताउनुभयो ।
कार्यक्रममा शारदा मावि बालाहाका प्रधानाध्याक तिर्थराज भट्टराई, सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराई, भगवती माविका पूर्व प्रअ पुरुषेतम घिमिरे, बर्दी नारायण चोधरी, रमेश पोखरेल रामकृष्ण उराँव, वरिष्ठ कलाकार बिक्रमश्री लगायतकाले मन्तव्य राख्नुभएको थियो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागको आयोजना तथा इनरुवा नगरपालिका सहयोगमा भएको प्रशिक्षणमा प्रदेश १ को सुनसरी, उदयपुर , मोरङ, झापा, धनकुटा सहितका १२ जिल्लाका दुई दर्जन बढी लोककला श्रष्टाहरुको सहभागीता हरेको थियो । कार्यशालाको उद्घाटन सत्र नवयुग बहुउदेश्य सामुदायिक सिकाई केन्द्रका अध्यक्ष खेमराज पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालक नवयुगका सदस्य मेघराज न्युपानेले गर्नुभएको थियो । कार्यक्रममा लोककला विभाग प्रमुख मिथिलादेवी यादव, इनरुवा नगरपालिका उपप्रमुख जमुना गोतम पोखरेल, रामपुजन ठाकुर, संजय बान्तोला,गंगा सुवेदी लगायतको उपस्थिती रहेको थियो ।
१, सुनसरीको इनरुवामा सुरुमा भएको प्रदेश १ स्तरीय लोककला कार्यशालाको उद्घाटन सत्रका सरोकारवालाहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया