प्रदेश २ सरकारद्वारा १५ सय छात्रालाई साइकल प्रदान
२४ फाल्गुन २०७७, सोमबार १७:१०
जनकपुरधाम । प्रदेश नम्बर २ काे सरकारले एक हजार पाँच सय २० छात्रालाई साइकल वितरण गरेको छ । सोमबार १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसर पारेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत निवास मधेश भवनमा एक हजार पाँच सय २० छात्रालाई साइकल वितरण गरिएको हो ।

साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको बताउनुभयो ।
यसको लागि प्रदेश भरि रहेका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई साइकल वितरण गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।
‘साइकलले महिला सशक्त हुँदैन’, उहाँले भन्नुभयो-तर, समाजिक रुपान्तरणको लागि सहयोगी हुन्छ । साइकलले समाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जिकिर गर्दै मुख्यमन्त्री राउतले यसलाई रुपान्तरणको पहिलो खुड्किलाको रुपमा लिनुपर्ने बताउनुभयो ।
शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमापछि रहेको महिलालाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँले दोहोर्याउनुभयो । प्रदेशका छोरीहरुलाई शिक्षित सब्बल बनाउन बेटी पढाउ, बेटी बचाउ अभियानलाई अगाडी बढाएको उहाँले जानकारी दिनुभयो ।
महिला हिंसा, दाइजो प्रथा, वालविवाह जस्ता कुरीति विरुद्धको कानूनलाई सशक्त रुपमा पालना गरेर अघि बढनुपर्ने धारणा उहाँको थियो । एसिड आक्रमण गर्ने, बलात्कारको घटनाका दोषी विरुद्ध कठोर कानूनको खाँचो मुख्यमन्त्री राउतले औंल्याउनुभयो ।
संशोधन गरेर भएपनि यस्ता जघन्य अपराधलाई सार्वजनिक स्थलमा झुण्डयाउने कानूनको व्यवस्था हुनुपर्ने उहाँको तर्क थियो ।
उक्त कार्यक्रममा एसिड पिीडित धनुषाका आरती साहलाई सम्मान समेत गरिएको छ । बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत यस वर्ष पनि कक्षा ८ मा अध्ययनरत्त २० हजार छात्राहरुलाई साइकल वितरण गर्न लागिएको हो । यसअघि प्रदेश सरकारले २०७५/०७६ मा दुई सय ६१ विद्यालयका १४ हजार छात्रालाई साइकल वितरण गरेकाे थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया