कोरानाविरुद्धको नक्कली खोप बेच्ने गिरोहको पर्दाफास, दर्जनौं पक्राउ, हजारौं डोज नक्कली खोप बरामद
२० फाल्गुन २०७७, बिहीबार ०९:४२
एजेन्सी। इन्टरपोलले कोरोनाविरुद्धको नक्कली खोप बिक्री गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ । चीन र दक्षिण अफ्रिकामा सक्रिय रहेका गिरोह इन्टरपोलको नियन्त्रणमा परेको हो । यसक्रममा हजारौं डोज नक्कली खोपसमेत बरामद भएको छ ।
चीनमा मात्रै नक्कली खोप बिक्री गर्ने ८० जनालाई पक्राउ गर्दै उनीहरुको साथबाट तीन हजारभन्दा बढी डोज खोप बरामद गरिएको छ । त्यसैगरि दक्षिण अफ्रिकाबाट तीनजना चिनियाँ र एकजना जाम्बियन नागरिक पनि पक्राउ परेका छन । उनीहरुबाट दुई हजार ४०० डोज नक्कली खोप बरामद गरिएको छ ।
उनीहरुलाई कुन मितिमा पक्राउ गरियो भन्ने बारेमा केही खुलाइएको छैन । इन्टरपोलको वेभसाइटमा उल्लेख भए अनुसार नक्कली खोप बिक्री गर्ने अर्को गिरोहसमेत रहेको सूचना प्राप्त भएको जनाइएको छ ।
दक्षिण अफ्रिकामा करिब दुई हजार चार सय डोज नक्कली खोप र तीन मिलियन नक्कली मास्क बरामद गरेको हो । एक गोदममा राखिएका प्याकेजहरु प्रहरीले सार्वजनिक गरेको थियो ।
दक्षिण अफ्रिकामा १७ फेब्रुअरीदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको थियो। त्यहाँ नक्कली खोप बिक्री हुनसक्ने अनुमानसहित चिनियाँ गिरोह पुगेको बताइएको छ ।
विक्रि गरिएका र बरामद भएका खोप चीनको कुन कम्पनीले कहाँ उत्पादन गरेको हो भन्ने बारेमा केही खुलाइएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया