एक्स्काभेटरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुरेर चालक फरार
१८ फाल्गुन २०७७, मंगलवार ११:१५
धादिङ । घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी एक महिलालाई एक्स्काभेटरले ठक्कर दिएर घाइते बनाएपछि जिउँदै पुरेर चालक फरार भएका छन् । धादिङमा महिलालाई घाइते बनाएपछि एक्स्काभेटरले पुरेर चालक फरार भएका हुन् ।
धादिङको त्रिपुरासुन्दरी १ सल्यानटार क्षेत्रमा सडक निर्माणको काम गरिरहेको एक्स्काभेटरले ति महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट उनी सोही सडकको खाल्डोमा खसेकी थिइन् ।
त्यसपछि चालकले चारैतर्फको माटो सोही खाल्डोमा खसाएर घाइते भएकी सरस्वती कुमाललाई पुरेका थिए । त्यस क्षेत्रमा रहेका केहीले ‘डोजरले मान्छे पुर्यो’ भनेर हल्ला गरेपछि चालक भीमबहादुर बूढाथोकी फरार भएका थिए ।
खाल्डोमा परेकी महिलाको उद्धार गर्दा गर्दै मृत्यु भइसकेको थियो । वागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी मीरा चौधरीका अनुसार ती महिलाको शव निकालिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया