प्रम र राष्ट्रपतिले मरिच चाउरिएझैं प्रतिनिधिसभा भंग गरे फेरि फागुन २३ गते आह्वान गर्दै – Nagarikabhiyan : National News

प्रम र राष्ट्रपतिले मरिच चाउरिएझैं प्रतिनिधिसभा भंग गरे फेरि फागुन २३ गते आह्वान गर्दै

काठमाडौ ।  प्रधानमन्त्रीको निर्देशनमा राष्ट्रपति
विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गरेकी थिइन । त्यसपछि हिजो सोमबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी फागुन २३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक आह्वान गरेकी छन् ।

सर्वोच्च अदालतले फागुन ११ गते संसद् विघटन बदर गर्दै २४ गतेभित्र प्रतिनिधिसभा बैठक बोलाउन मिति तोकेर परमादेश दिएपछि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओली मरिच चाउरिएझैं चाउरिएर प्रतिनिधिसभा बैठक आह्वान गर्ने अवस्थामा पुगेका हुन् । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेअनुसारकै मिति र समयमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा बैठक आह्वान गरेकी हुन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक आह्वान गर्ने निर्णय गरे पनि मिति तोकेर सिफारिस गरेको थिएन । मन्त्रिपरिषद् बैठकले मिति र समय तोकेरै सिफारिस भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने बताइएको छ।