आफूमाथि ज्यानको खतरा रहेको प्रधानमन्त्री ओलीको भनाई
१७ फाल्गुन २०७७, सोमबार १७:०७
काठमाडौं । प्रधानमन्त्री ओलीले आज पोखरामा प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफूमाथि ज्यानको खतरा रहेको बताएका छन् ।
‘यदि शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौंठो नमान्नुहोला,’ उनले भने । पछिल्लो समय सत्ता संघर्ष चर्कदै जाँदा ओलीले आफैमाथि ज्यानको खतरा रहेको बताएका हुन् । प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला पछि ओली आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् । उनले नेकपा दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको चर्को आलोचना गर्दै आएका छन् ।
प्रधानमन्त्रीको पदमा रहेका ओलीले ज्यानको खतरा नै छ भन्नु गम्भीर विषय हो । अहिले उनलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानबाट सुरक्षा घेरा रहेको छ ।
ओलीको सुरक्षामा सेनाका अधिकृत २४ घन्टा खटिएका हुन्छन् । उनलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्रै विशेष सुरक्षा हुन्छ । बालुवाटारबाहिर निस्कँदा सेना, प्रहरीलगायतको सुरक्षा निकायको अगुवा पछुवा हुन्छन् । यसरी चार घेराको सुरक्षा रहेका प्रधानमन्त्री ओलीले सुरक्षा थ्रेटको विषय उठाउनु गम्भीर विषय हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया