प्रचण्ड–नेपालद्वारा देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव – Nagarikabhiyan : National News

प्रचण्ड–नेपालद्वारा देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव

काठमाडौं । प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेलगत्तै नयाँ सरकार गठनका लागि नेताहरुबीच गृहकार्य प्रारम्भ भएको छ । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा काँग्रेसका सभापति शेरबहादुर देउवाबीच बुधबार नयाँ सरकार गठनबारे प्रारम्भिक चरणको छलफल भएको हो ।

देउवा निवास बुढानिलकण्ठमा तीन नेताबीच भएको छलफलमा प्रचण्ड र नेपालले देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् । नेकपा उच्च स्रोतकाअनुसार तीन नेताबीच झण्डै ४५ मिनेट भएको छलफलमा प्रचण्ड र नेपालले गरेको प्रस्तावप्रति देउवा सकारात्मक बन्दै दलभित्र छलफल गरेर निर्णय दिने बताएका थिए ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले नेताहरुबीचको छलफल सकारात्मक भएको बताए । ‘छलफल भयो, नेताहरु समझदारीबाटै अघि बढ्ने कुरामा सहमत हुनुभएको बुझिएको छ’ सापकोटाले जानकारी दिए । यसअघि प्रचण्ड र माधव दुवै नेताले आफुहरु प्रधानमन्त्री नबन्ने भन्दै देउवालाई अगाडि सारेको बताएका थिए । ‘बुधबारको छलफलमा पनि सोही कुरा प्रस्तावका रुपमा अगाडि सार्नुभयो । त्यसमा सभापति ज्यु पनि सकारात्मक हुनुहुन्छ’ देउवा निकट स्रोतले भन्यो, ‘पार्टीमा छलफल गरेर निर्णय दिन्छु भन्नुभएको छ ।’