भारतले ल्याइदिन थाल्यो सीमासम्म नेपाली
२ जेष्ठ २०७७, शुक्रबार १५:१५
नेपालगन्ज । भारतले सीमावर्ती क्षेत्रमा क्वारेन्टाइनमा राखिएका नेपालीहरूलाई सीमासम्म ल्याइदिन थालेको छ।
केही दिनअघि भारतीय पक्षले रूपन्देहीको बेलहिया नाकापारि नेपाली ल्याएर छोडिदिएको थियो।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार क्वारेन्टाइनमा बसेका नेपालीहरूले क्वारेन्टाइनमा बस्दाबस्दै वाक्क भएर नेपाल जान पाउनु पर्ने भन्दै आन्दोलन गरेका थिए।
भारतीय सुरक्षाकर्मीले पनि उनीहरूको आन्दोलनलाई जायज ठानेर सीमासम्म ल्याइदियो। झन्डै ५ सय नेपाली केही दिनअघि दशगजा क्षेत्रमा पुगे।
‘दशगजामा आएर बसेका नेपालीलाई हामीले ल्याएनौं भने लुकिछिपी आउँछन्। त्यसरी झन् जोखिम हुन्छ भनेर हामीले उनीहरूको उद्धार गरेका हौं,’ प्रजिअ पन्थले भने,‘नेपाल ल्याएर अहिले क्वारेन्टाइनमा राखेका छौं।’
उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने र कोरोना परीक्षण गरेर गृहजिल्ला पठाउने योजना रहेको पन्थले बताए।
बिहीबारमात्र बाँकेको रूपडिया नाकामा आइपुगेका सात सय नेपालीलाई प्रशासनले उद्धार गरेको छ।
यसरी नेपाल ल्याइएकाहरू विभिन्न जिल्लाका छन्। उनीहरूको आरडिटी परीक्षण गरेर सम्बन्धित जिल्ला पठाउने प्रशासनको तयारी छ।
नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरका अनुसार शुक्रबार दिउँसोसम्म परीक्षण गरिएकामध्ये तीन जनामा कोरोनाभाइरसको एन्टिबडी देखिएको छ।
उता बर्दियामा पनि शुक्रबार बिहान भारतीय सुरक्षाकर्मीले १०२ जना नेपालीलाई सीमामा ल्याइदिएका छन्।
बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार दुबै देशका स्थानीय अधिकारीहरूको समन्वयमा नेपालीहरूलाई सीमासम्म ल्याइएको हो।
‘उनीहरूले हाम्रा नागरिकलाई ल्याइदिए, हामीले पनि बर्दियामा क्वारेन्टाइनमा बसेका २३ भारतीयलाई उता पठाइदियौं,’ प्रजिअ लामिछानेले भने,‘बर्दियाका केही नागरिक नेपालगञ्ज नाकाबाट पनि आएका छन् रे। लामो समय क्वारेन्टाइनमा बसेका एक(अर्काका नागरिकलाई पठाउने काम भएको हो।’
उनले नानापराको क्वारेन्टाइनमा बसेका बर्दियाका नागरिकलाई पनि नेपाल ल्याउनेबारे कुराकानी भइरहेको जनाए।
गौरीफन्टा नाकाबाट पनि नेपाली पठाउने भारतले तयारी गरिरहेको छ।
‘लखिमपुरको क्वारेन्टाइनमा ४७२ जना नेपाली छन्। उनीहरूलाई नेपाल ल्याउने कुरा भइरहेको छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले भने,‘एक(दुई दिनमै आउँछन् होला।’
सरकारले भारतसँगको सीमा जेठ १८ गतेसम्मका लागि बन्द गरेको छ।
लकडाउन र सीमा बन्द भए पनि लुकिछिपी नेपाली आउने क्रम जारी छ। अहिले नेपालमा देखिएकामध्ये अधिकांश कोरोना संक्रमित भारतबाट आएका छन्।
पछिल्लो समय भारत सरकारले नै आप्रवासी कामदार र विदेशलाई घर जान दिने नीति लिएको छ। सेतोपाटीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया