फैसला सुनाउनु अघि प्रधानन्यायाधिश राणाले किन आजै भेटे प्रधानसेनापति थापालाई ? यसरी तयार हुँदैछ फैसला – Nagarikabhiyan : National News

फैसला सुनाउनु अघि प्रधानन्यायाधिश राणाले किन आजै भेटे प्रधानसेनापति थापालाई ? यसरी तयार हुँदैछ फैसला

काठमाडौं । संसद् विघटनसम्बन्धी मुद्दा फैसला अन्तिम चरणमा पुगेका बेला नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबीच आकस्मिक भेट भएको छ ।

सर्वोच्चले नयाँ भवन बनाउने स्थानमा नेपाली सेनाको केही जग्गा परेकाले त्यससम्बन्धी छलफल गर्न प्रधानसेनापति थापा सर्वोच्च पुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौड्यालले पुष्टि गरे ।

सर्वोच्चको अहिलेको भवनपछाडि नयाँ भवन बन्दैछ । ‘नेपाली सेनाले केही जग्गा छोडिदिनुपर्ने र हस्तान्तरण गर्नुपर्ने भएकाले त्यस विषयमा समन्वय गर्न जानुभएको हो,’ पौड्यालले शिलापत्रसँग भने । प्रधानन्यायाधीश राणासँग भेट भए-नभएको चाहिँ आफूलाई थाहा नभएको उनको भनाइ थियो ।

तर, सर्वोच्च अदालत स्रोतले भने प्रधानसेनापति थापा र प्रधानन्यायाधीश राणाबीच कुराकानी भएको दाबी गरेको छ । संसद् विघटनसम्बन्धी मुद्दाको पक्ष-विपक्षको बहस ७ फागुनमा सकिएपछि भोलिदेखि हेर्दाहेर्दैमा सुनुवाइ हुँदैछ ।

संसद् विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली र त्यसको विरोध गरिरहेको सत्तारुढ दलकै अर्को समूह प्रचण्ड-नेपाल खेमाका नेता दुवै पक्षले सर्वोच्चले आफ्नो पक्षमा फैसला नगरे आन्दोलन गर्ने चेतावनी दिइरहेका छन्, सार्वजनिक रुपमा । यही पृष्ठभूमिमा प्रधानन्यायाधीश र प्रधानसेनापतिको भेटले राजनीतिक वृत्तमा समेत तरंग पैदा गरिदिएको छ ।