फारार ५ सय ५ जना अपराधी पक्राउ – Nagarikabhiyan : National News

फारार ५ सय ५ जना अपराधी पक्राउ

राजविराज । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५ सय ५ जना अपराधीलाई सप्तरी प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

चालु आर्थिक बर्ष २०७७÷०७८ को साउनदेखी माघ मसान्तसम्मको अवधीमा पछिल्लो पटक विगत पाँच महिनादेखी हाल सम्म्म फारार रहेका अपराधीहरुलाई प्रहरीले बिभिन्न ठाउँबाट पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।

सोही क्रममा जवरजस्तीकरणीका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका ५ बस्ने २० वर्षिय मो. सहादतलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार फरार प्रतिवादीहरुमा कुटपिट मुद्दाका सर्वाधिक छन् भने सवारी ज्यान, कर्तव्य ज्यान, गाली बेइजती, ठगि, जबरजस्तीकरणी, लेनदेन लगायत मुद्दाका फरार प्रतिवादी पनि रहेको तथ्याङ्कमा उल्लेख छ ।

पक्राउ परेका फरार प्रतिवादीहरुबाट ६५ वर्ष ६ महिना २२ दिन कैद बक्यौता तथा जरिवानाको वक्यौता रु १२ लाख ७७ हजार ७ सय २६ रुँपैया असुली गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहको भनाई छ ।

यता पक्राउ परेका सबैलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान समेत गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै यस अवधीमा भन्सार छलि गरि भित्राइएका ८८ थान मोटरसाइकल, ८ थान अटोरिक्सा, ५ थान ट्याक्टर, ३ थान पिकअप तथा २ थान टेम्पो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडी समेत बढाइएको छ ।

सवारीसाधनको रु २ करोड ३४ लाख १७ हजार ५ सय ७२ रुँपैया अनुमानित मुल्याङ्कन गरि भन्सार कार्यालयमा बुझाइएको उहाँको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस अवधीमा जिल्लामा विभिन्न अपराधका ४ सय ३७ मुद्दा दर्ता भएका छन् । जुन गत आ.ब.को तुलनामा कम रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ ।

यसैगरी सप्तरी प्रहरीले भारतबाट मोटरसाइकलमा तस्करी गरि ल्याउँदै गरेको ६ सय ४१ थान विभिन्न रेडिमेड कपडा नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कडोरबोनाको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिकास्थित बलान खोला पुलमा चेकजाच गर्ने क्रममा सो रेडिमेड कपडाहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले तस्करीका कपडा र तस्करीमा प्रयोग भएका तीन वटा मोटरसाइकसहित दुई जना तस्करलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।