बालिका बलात्कारको घटनामा २ जना पक्राउ
३० माघ २०७७, शुक्रबार १९:२२
जनकपुरधाम । धनुषामा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुस्कान खातुन र शम्भु भनिने ओमनारायण यादव छन् । प्रहरीका अनुसार मुस्कान खातुनले १३ वर्षकी बालिकालाई आफ्नै कोठामा ग्राहक बोलाई यौनधन्दामा लगाउने गरेकी थिइन् ।
खातुन लक्ष्मीनियाँमा एउटा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । त्यस क्रममा मुस्कानले यादव समेतलाई कोठामा बोलाई पीडित बालिकासँग यौन सम्बन्ध राख्न लगाएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
पटक–पटकको बलात्कारपछि बालिका गर्भवती भएपछि घटनाबारे परिवारले थाहा पाएको थियो ।
प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर फरार रहेका खातुन र यादवलाई बिहीबार राति धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ४ स्थित बाटोबाट नियन्त्रणमा लिइएको उनले बताए । पक्राउ परेका दुबै जना स्थानीय हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया