संसद विघटनविरुद्ध नागरिक खबरदारी – Nagarikabhiyan : National News

संसद विघटनविरुद्ध नागरिक खबरदारी

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा नागरिक खबरदारी गरिएको छ ।

प्रजातान्त्रिक विचार समाजको आयोजनामा शुक्रबार माइतीघरमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नागरिक खबरदारी गरिएको हो । ‘विधिको शासन कायम गर’, ‘मानवअधिकारको रक्षा गर’, ‘हत्या, हिंसा बन्द गर’, ‘प्रेस स्वतन्त्रता सुनिश्चित गर’, ‘प्राज्ञिक स्वतन्त्रता कायम गर’लगायत नारा लेखिएका प्लेकार्डसहित सहभागीहरुले संसद् विघटनको विरोध गरे ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसीले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदमका विरुद्ध सबै बुद्धिजीवीहरु एकैठाउँमा आउनुपर्ने बताए । सडक र सदन दुवैमा अराजकतावादी रहेका र तिनले लोकतन्त्रलाई नष्ट गर्न खोजेको उनको भनाइ थियो । उनले लोकतन्त्र र प्रजातन्त्रको रक्षाको लागि सम्पूर्ण लोकतन्त्रवादीहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गरे ।

नागरिक खबरदारी कार्यक्रममा बोल्दै डा. गोविन्द केसीले जनताले रगत र पसिना बगाएर ल्याएको प्रजातन्त्रको मूलमर्म स्वतन्त्रता र नागरिक अधिकार भए पनि सरकारले खोसेको बताए । उनले आफ्नो घृणित स्वार्थका लागि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी संविधान र प्रजातन्त्रको हत्या गरेको आरोप लगाए ।