‘राज्यविरुद्ध कसूरको दफा ५८ त केपी ओलीलाई ठ्याक्कै आकृष्ट हुन्छ’
३० माघ २०७७, शुक्रबार ११:०९
काठमाडौं । वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले नेकपा नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिप्रति आकर्षित भएको भनिएको राज्यविरुद्धको कसूरको दफा ५८ प्रधानमन्त्री केपी शर्मा ओलीप्रति भने ठ्याक्कै आकृष्ट हुने बताएका छन् । बिडारीले उक्त धारा झाँक्रीको सन्दर्भमा लागू नहुने बताउँदै ओलीलाई भने ठ्याक्कै आकृष्ट हुने बताएका छन् ।
‘यो दफा त केपी जीलाई भने ठ्याक्कै आकृष्ट हुन्छ’, राष्ट्रिय सभा सदस्यसमेत रहेका बिडारीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘किनकि संविधानविपरीत काम गर्न दबाब दिएकोले । तर, झाँक्रीलाई लागू हुँदैन । ध्यान दिएर पढौँ त एकफेर ।’
बिहीबार प्रहरी टोली निवासमै पुगेर झाँक्रीलाई पक्राउ गरेको थियो । पक्राउ गर्न उनको निवास शंखमूल पुगेको प्रहरी टोलीलाई झाँक्रीले पहिले पक्राउ पूर्जी आफूलाई थम्याउन भनेपछि हतार–हतार प्रक्राउ पूर्जी जारी गरेको अपराध अनुसन्धान महाशाखाले झाँक्रीलाई राज्यविरुद्धको कसूरको दफा ५८ आकर्षित भएकोले पक्राउ गर्नुपरेको उल्लेख गरेको थियो ।
नेतृ झाँक्री पक्राउसँगै सरकारको चौतर्फी आलोचना भएपछि झाँक्रीलाई साँझ ६ बजे रिहा गरिएको थियो । बिहीबार नै कानूनविद्हरुले भने झाँक्रीको अभिव्यक्तिप्रति राज्यविरुद्धको कसूरको उक्त दफा आकर्षित नहुने बताउँदै सरकारले गलत दफाको प्रयोग गरेको बताएका थिए ।
झाँक्रीले केही दिनअघि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिँदै बालकोटको प्रसङ्ग पनि जोडेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया