चिच्याइ–चिच्याइ बोलिन् रामकुमारी झाँक्री, ‘सन्की ओलीको प्याधा बन्ने महिलाविरुद्ध बोल्न पाइन्छ’
२८ माघ २०७७, बुधबार १५:३९
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि सन्की प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा बनेको आरोप लगाएकी छन् ।
संसद् विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा नेतृ झाँक्रीले राष्ट्रपति जस्तो सम्माननीय संस्था आफूहरुको बलिदानीले प्राप्त भएको र त्यस संस्थाविरुद्ध बोल्ने दुस्साहस आफूले नगरेको बताएकी छन् ।
‘कुनै व्यक्ति निर्वाचनको प्रक्रियाबाट त्यो संस्थामा गएर निरंकुशताको साक्षी बस्छ, एउटा प्यादा बन्छ भने त्यस्ता पात्रविरुद्ध बोल्न पाइन्छ’ उनले भनिन्, ‘एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ?’
उनले थपिन्, ‘महिला अस्मिता त त्यतिबेला बलात्कृत भएको छ, जतिबेला निर्मला पन्त, भागरथी भट्ट जस्ता किशोरीहरु बलात्कृत भएका छन्, उनीहरुको हत्या भएको छ ।’
राष्ट्रपतिबारे आफूले गरेका टिप्पणीले गर्दा महिला हिंसा भएको भन्दै विरोध भएकोतर्फ इंग्गित गर्दै उनले भनिन्, ‘तानाशाह बन्दै गरेको अहंकारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइन्छ । यहाँ महिला अस्मिताको प्रश्न आउँदैन ।’
अखिल नेपाल महिला संघलाई राष्ट्रपति भण्डारीले १८ वर्षसम्म प्राइभेट कम्पनी बनाएको र त्यसका सदस्यहरुले महिला अस्मिताको प्रश्न उठाएको भन्दै उनले भनिन्, ‘मलाई जन्न मन छ, भागरथीहरुका हत्याराहरुलाई कारबाही गर भनेर गृह मन्त्रालय पुगे कि पुगेनन् ?’
नेता झाँक्रीले प्रधानमन्त्री ओली कागजी बादशाह भएको र बादशाहहरु कमजोर बन्दै गएपछि कागजका अग्ला कदका बुख्याँचा बनाउने भन्दै उनले भनिन्, ‘खड्गप्रसाद ओली कागजी बादशाह हुन्, ती ढलिसके, घोषणा हुन मात्र बाँकी छ ।’ आफूहरुले व्यक्तिगत रुपमा ओलीलाई नभई ओली प्रवृत्तिको विरोध गरेको भन्दै उनले पार्टीमा आगामी दिनमा यस्तो प्रवृत्ति जन्म हुन नदिने प्रतिवद्धता जनाउन नेताहरुलाई आग्रहसमेत गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया