प्रधानमन्त्रीको निर्देशनपछि उपत्यकामा लकडाउन कडा पार्ने तयारी
३० बैशाख २०७७, मंगलवार १४:५३
काठमाडौं । काठमाडौं उपत्यकामा फेरी लकडाउन कडा हुने भएको छ । आइतबारदेखि सरकारी कार्यालय र बैंक वित्तय संस्थाहरु सञ्चालमा आएपछि उपत्यकाको लकडाउन केहि खुकुलो भएको थियो ।
तर, आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अहिलेको अवस्थालाई लकडाउन भन्न नमिल्ने भन्दै कडा रुपमा प्रस्तुत भएका थिए ।
‘काठमाडौंमा लकडाउन छ र ?’ भन्दै आफ्नो कुरा राख्न थालेका प्रधानमन्त्रीको भनाई उदृत एक मन्त्रीले भने–‘यसलाई लकडाउन भनिँदैन । आर्थिक गतिविधि र व्यवसाय सिद्धिने भए भन्ने नाममा लकडाउन खुकुलो भएपछि कुनै अर्थ हुन्न । जीवन रहे अर्थतन्त्र पनि जोगिएला । सुनको बाक्सामा मान्छे राखेर के गर्नु, मरेपछि त सक्किगो नि ।’
साथै प्रधानमन्त्री ओलीले लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएका थिए ।
सोही निर्देशन अनुसार उपत्यकामा लकडाउन कडा पार्ने तयारी भएको हो ।
आजै अपरान्ह उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक बस्दै छ । बैठकले लकडाउन कडा पार्ने बारे छलफल हुने भएको छ ।
प्रधानमन्त्रीले मान्छेले विरोध गरे, केही मिडियाले लकडाउनको विरोध गरे भन्दैमा महामारीसँग खेलाँची गर्न नहुने बताएका थिए ।
त्यस्तै आज ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका नयाँ संक्रमितमध्ये पर्सामा ३९, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।
छिमेकी मुलुक भारतबाट आउनेहरुबाट नेपालमा कोरोना संक्रमणको भयावह अवस्था देखिन सक्नेबारे सरकार गम्भीर रहेको प्रधानमन्त्री ओलीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया