काठमाडौं । सभामुख अग्नि सापकोटा पछिल्लो समय सरकारविरुद्ध आक्रामक देखिएका छन् । शुक्रवार सर्वोच्च अदालतमा सरकारले संवैधानिक आयोगमा गरेका नियुक्तिविरुद्ध आफै गएर मुद्दा दर्ता गराएका सापकोटाले अर्को कदम चाल्ने संकेत दिएका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड निकट सापकोटाले प्रचण्ड-माधव समूहको चाहनाअनुसार विघटन भएको संसद आफै बोलाउने तयारी गरेका हुन् ।
विघटन सहि हो कि होइन भन्ने मुद्दामा अदालतमा रहेका बेला त्यसलाई समेत चुनौती दिनेगरी सभामुखले संसद बोलाउने तयारी गरेको संकेत दिएका हुन् ।
संसद विघटन भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १७ र २७ मा चुनाव घोषणा गरेका छन् । यस्तोमा प्रचण्ड-नेपाल समूहको निर्देशनमा सभामुखले संसद बैठक बोलाए मुलुक अर्को दुर्घटनामा जाने चेतावनी संविधानविद्हरुले दिएका छन् । यस्तोमा अर्को रक्तपात हुने खतरा पनि उतिकै छन् ।
सभामुखले बैठक बोलाए ओली समूहले मान्ने छैन । अनि दुबै पक्ष भिड्ने अवस्था आउँदा दुर्ईटना निम्तिने निश्चित छ ।
आज विहान मात्रै प्रचण्डले पत्रकार सम्मेलनमा अदालतले सदर गरे त्यहीँ बेला के गर्छौ हेरौला भन्दै धम्की दिएका थिए ।
त्यसो त प्रचण्डले विराटनगरको सभाबाट संविधानको अधिकार प्रयोग गरेर केपी शर्मा ओलीले गरेको असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याउन सभामुखले सदनको बैठक आयोजना गर्ने, हामी उपस्थित हुने र केपीलाई अविश्वासको प्रस्तावमार्फत हटाएर कारबाही गर्नेसम्म जान सक्ने उल्लेख गरेका थिए ।
यही भनाईलाई बल पुग्नेगरी सभामुखले शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर आफूले संसद बैठक बोलाउने संकेत गरे । यसका लागि छलफलमा रहेको जानकारी दिए ।
सभामुख सापकोटाले विघटन हुँदा पनि प्रतिनिधिसभामा अवरोध गरिएको टिप्पणी गरेका थिए । उनले विघटनलाई नमानेर सरकार गठन गर्ने विकल्प रहँदासम्म विघटन नहुने दाबी गरेका थिए ।
सभामुख सापकोटाले संसद बैठक बोलाउन संवैधानिक निकायका पूर्वप्रमुखहरु, पूर्वप्रधानन्यायाधीशहरु, दलका नेताहरु, संविधानविद, बौद्धिक जमातसँग छलफल गरिरहेको उल्लेख गरेका छन् । सबैले बोलाउनका लागि सुझाव दिएको भन्दै राष्ट्र हितका लागि आफू त्यसतर्फ अगाडि बढ्न लागेको संकेत उनले दिए ।
यदि सभामुख यो दिशातर्फ अघि बढ्यो भने देशले अकल्पनीय क्षति व्यहोर्ने ओली समूहका नेताहरु बताउँछन् । नेता आनन्द पोखरेल विघटन भइसकेको संसद बोलाउने अधिकार सभामुखलाई नभएको बताउँछन् । उनी यसले दुर्घटना निम्त्याउने चेतावनी दिँदै निर्वाचनमा जानुमै सबैको भलाई हुने तर्क गर्छन् । अब सभामुखले चाल्ने कदमले कस्तो दुर्घटना निम्त्याउँछ त्यो हेर्न बाँकी नै छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया