बर्षमान पुन भन्छन् – संविधान र लोकतन्त्रको रक्षा गर्न चुनाैती भयाे – Nagarikabhiyan : National News

बर्षमान पुन भन्छन् – संविधान र लोकतन्त्रको रक्षा गर्न चुनाैती भयाे

पोखरा। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले ७० वर्ष लामो सङ्घर्षबाट प्राप्त लोकतन्त्र गुम्ने खतरा रहेकाले सोको रक्षाका लागि अहिलेको दबाब र सङ्घर्ष भइरहेको बताएका छन्।

नेकपा कास्की सम्बद्ध बौद्धिक सङ्घ सङ्गठन तथा जनवर्गीय सङ्गठनको संयोजनमा आज पोखरामा भएको विचार गोष्ठीमा उनले सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, खाद्य सुरक्षालगायतमा जनताको हक र अधिकार बढाएर संविधानमा समाजवादको आधार तयार गर्ने कुरा गरे पनि संविधानको रक्षा र लोकतन्त्रको रक्षा गर्नुपर्ने चुनौती थपिएको छ भने।

नेता पुनले पार्टीलाई विधि र पद्धतिका आधार सञ्चालन गर्ने र सबै नेता कार्यकर्तालाई वृत्ति विकासको अवसर प्रदान गरिने बताए।

उनले भने, “राजनीतिक, विचार, सिद्धान्त र पद्धतिका आधारमा पार्टी निर्माण गर्छौँ, प्रचण्ड–माधव नेपाललाई नचिने पनि उनीहरुले नचिने पनि यस पार्टीमा हरेक पार्टी कार्यकर्ताको भविष्य छ र वृत्ति विकास हुन्छ भन्ने कुराको विधि सुनिश्चित गर्न तयार छौँ, गर्छौँ ।”

अर्का स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेपाली समाजको समग्र रुपान्तरणमा कम्युनिष्ट पार्टीको अहम् भूमिका रहे पनि पार्टीभित्रको गलत र आत्मकेन्द्रित प्रवृत्तिका विपक्षमा आफूलाई उभ्याउन कार्यकर्तालाई आग्रह गरे ।