फ्रान्समा एक सभामा बम राख्ने योजना बुनेको आरोपमा इरानी कूटनीतिज्ञलाई २० वर्षको सजाय
२३ माघ २०७७, शुक्रबार ०८:३५
एजेन्सी। फ्रान्समा एक इरानी कूटनीतिज्ञलाई निर्वासित विपक्षी समूहको तर्फबाट आयोजित सभामा बम राख्ने योजनामा दोषी ठहर गरिएको छ ।
हाल ४९ वर्षका असदुल्लाह असादी वियनास्थित इरानी दूतावासमा कार्यरत थिए । उनलाई सन् २०१८ को जूलाईमा पक्राउ गरिएको थियो । उनलाई बेल्जियमको एन्टवर्प अदालतले २० वर्षको जेल सजाय सुनाएको हो ।
कुनै इरानी अधिकारीमाथि सन् १९७९ को क्रान्तिपछि युरोपेली संघमा यस्तो प्रकारको आरोप लगाएको यो पहिलो घटना हो ।
असादीबाहेक अन्य तीनजनालाई पनि बम बिस्फोट गर्ने योजनामा दोषी ठहर गरिएको छ । उनीहरुलाई जर्मनी, फ्रान्स र बेल्जियमको प्रहरीले संयुक्त अपरेशनको क्रममा पक्राउ गरेका थिए ।
इरानले यी आरोप अस्विकार गर्दै आएको छ र यसलाई षड्यन्त्र बताइरहेको छ ।
सन् २०१८ को जूनमा निर्वासित नेशनल काउन्सिल अफ रेसिस्टेन्स अफ इरानको एक र्याली पेरिस बाहिर भएको थियो । यो सभामा हज्जारौं मानिसहरुको उपस्थिती थियो । यसमा डोनल्ड ट्रम्पका वकिल रुडी गुलियानी पनि समावेश थिए । सभामा बम बिस्फोट गराउने योजना भने विफल पारिएको थियो ।
असादीले लक्जमबर्गमा इरानी मूलका एक बेल्जियन दम्पत्तिसँग भेट गरेर उनीहरुलाई बिस्फोट दिएको आरोप लागेको छ । यो दम्पत्तिलाई पछि पक्राउ गरिएको थियो ।
यो मामिलामा फ्रान्सले इरानको गुप्तचर विभागमाथि योजना बनाएर हमला गरेको आरोप लगाएको थियो र फ्रान्सले दुई वरिष्ठ इरानी अधिकारीको सम्पत्ति जफत गरेको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पद सम्हालेको केही हप्तापछि यो निर्णय आएको हो । जो बाइडेन सत्तामा आएपछि इरानलाई आशा छ कि उनले ट्रम्पको तर्फबाट लगाइएको प्रतिबन्धलाई हटाउनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया