आफ्नै कार्यकर्ताले पत्याएनन् प्रचण्ड–माधवलाई, माइतीघरमा दुई सय जना पनि आएनन्, बेहाल भयो आन्दोलन
१८ माघ २०७७, आईतवार २१:०४
काठमाडौं । प्रधानमन्त्री एवं प्रथम अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपाको एउटा समूह सडक संघर्षमा छ । सरकार निर्वाचनको माहोल बनाउँदै गर्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल नेतृत्वको समूह आन्दोलनको माहोल बनाउन लागिपरेको छ ।
यस समूहका नेता देशदौडाहा छन् । तर राजधानीमा भने यो समूहलाई नेता कार्यकर्ताले पत्याएनन् । आइतवार माइतीघरमा कार्यकर्ताले उपस्थितिले नेतालाई लज्जित बनायो । यसबाट यो समूहको आन्दोलनमा धक्का लागेको छ । काठमाडौंको माइतीघर मण्डलामा प्रचण्ड–माधव समूहले आइतबार आयोजना गरेको धर्नामा मुस्किलले २ सय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
प्रचण्डको फेसबुक पेजमा राखिएको तस्विरमा नेता कार्यकर्ताहरू निकै कम उपस्थिति देखिएको छ । प्रचण्ड–माधव समूहको आन्दोलनलाई कार्यकर्ताहरूले रुचाएका छैनन् । कार्यकर्ताको न्यून उपस्थिति भएपछि प्रचण्ड–माधव समूहलाई तनाब भएको छ । धर्नाको सुरक्षाका लागि आएका सुरक्षाकर्मी र समाचार लिन आएका सञ्चारकर्मीहरू धेरै देखिएका छन् ।
शुरुका दिनमा धेरै कार्यकर्ता सडकमा उतारेका प्रचण्ड–माधव समूहलाई क्रमशः कार्यकर्ताले छाड्न थालेका छन् । झण्डै दुईतिहाइ बहुमत पाउँदा पनि नेकपाका नेताहरूको व्यक्तिगत स्वार्थ र अन्तरिक खिचातानीले गर्दा संसद भङ्ग गरेका थिए ।
नेताहरू मिल्न नसकेर संसद भङ्ग गरेको कुरा बुझेपछि नेकपाका कार्यकर्ताहरू सडक प्रदर्शनमा सहभागी हुन छाडेका हुन् । आइतबारको धर्नामा प्रचण्ड, नेपाल, नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया