बिराटनगर। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले लोकतन्त्र र संविधानको भावनाअनुसार प्रतिनिधिसभा पुनःस्थापनाको फैसला नगरे प्रतिनिधिसभा बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने बताएका छन् ।

‘संविधानअनुसार प्रतिनिधिसभा विघटन नभई प्रधानमन्त्री ओलीको सरकार विघटन भएको छ,’ प्रतिनिधिसभा विघटनको विरोधमा विराटनगरमा आयोजित सभामा उनले भने, ‘त्यसैले संविधानले दिएको अधिकार प्रयोग गरेर सभामुखको अध्यक्षतामा संसद्को बैठक बसेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्छौं ।’ उनले सर्वोच्च अदालतले सही निर्णय गर्ने भएकाले अहिले नै प्रतिनिधिसभाको बैठक नबसेको बताए ।
आफ्ना छोराछोरी र ज्वाइँलाई मात्रै हेरेको र आमनागरिकलाई नहेरेको प्रधानमन्त्री ओलीको आरोपबारे एक कार्यकर्ताले पत्रमार्फत गरेको प्रश्नमा दाहालले ‘छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु गल्ती हो ?’ भन्दै प्रतिप्रश्न गरेका थिए । ‘मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ । त्यो मेरो दोष हो ? मैले आफैंसँग जंगलमा बन्दुक बोक्न लिएर हिँडें, त्यो मेरो दोष हो ?’ उनले भने, ‘मैले आफ्ना छोराछोरीलाई विशेष अधिकार खोजिनँ ।’

नेकपाका अर्का नेता झलनाथ खनालले प्रधानमन्त्री ओली महाभारतका आधुनिक सकुनी भएको टिप्पणी गरे । ‘जसरी सकुनीले यदुवंशीको विनाश गरे त्यसरी नै प्रधानमन्त्री ओलीले कम्युनिस्टलाई विनाश गर्न खोजेका छन्,’ उनले भने, ‘जनताले महाभारतका सकुनी जस्तै प्रधानमन्त्री ओलीलाई पनि कथामा सीमित गर्ने बेला आइसकेको छ ।’
अर्का नेता योगेश भट्टराईले कांग्रेस सत्ता स्वार्थमा लागेकाले अलमलमा परेको बताए । ‘प्रतिनिधिसभा र जनताको संविधानको हत्या भएको अवस्थामा सबैले आ–आफ्ना कित्तामा उभिनु आवश्यक छ,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया