किसानका लागि आकर्षक कार्यक्रमको प्रतिवद्धता – Nagarikabhiyan : National News

किसानका लागि आकर्षक कार्यक्रमको प्रतिवद्धता

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजना तथा मानव अधिकार समूह भोक्राहा नरसिंहको संयोजनमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा माघ १६ गते खाद्यको अधिकार सम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले गाउँपालिकाले कृषि तथा पशु सेवा सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेको र थप आकर्षक कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनुभएको छ । वहाँले सशर्त कार्यक्रममा आएको बजेट प्रयाप्त नभएपनि त्यसको लागि थप बजेट सहित आकर्षक कार्यक्रम ल्याउने बताउनुभयो । अध्यक्ष यादवले सिमिति स्रोत साधनका बीचमा किसानको माग र आवश्यकता अनुसार पर्याप्त बजेट छुट्याउन नसकिएको भएपनि राम्रो काम भएको बताउनुभयो ।
वहाँले गत तीन वर्षदेखी कृषि शाखा कर्मचारी विहिन रहेकोमा गाउँपालिकाले नै कृषि प्राविधिक नियुक्त गरेर यसपाली कृषि शाखालाई चलायमान बनाएको बताउनुभयो । वहाँले कृषि तथा पशु सम्बन्धी कार्यक्रम छनौट गर्दा सबै वडाका प्राथमिकतामा राखेको बताउनुभयो ।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका ४ का कावा वडा अध्यक्ष कैजुम अंसारीले प्रत्येक वडामा पशु प्रविधिक र कृषिका लागि जेटिएको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । वहाँले उत्पादन भएको कृषि उवजको बजार भाउँ नपाएको, भण्डारण गर्ने ठाउँ नहुदा लगानी भन्दा कममा विक्रि गर्न बाध्य भएको गुनासो सुनाउनुभयो ।
त्यसैगरी ३ नम्बर वडा अध्यक्ष सुकदेव यादवले उन्नत जातको पशुपालन गर्नुपर्ने र कृषिमा आधुनिकिकरण तथा व्यसायीकरण आवश्यक रहेको बताउनुभयो । युवा किसान पुनम कुमारी साहले कृषि र पशुमा छनौट भएको कार्यक्रमहरुको व्यवहारीक कार्यालय गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका ६ का वडा अध्यक्ष राजेश्वर प्रसाद साहले कृषि र पशु पालनमा ध्यान दिनुपर्ने र आफूहरुले वडाबाट दवाव दिएर भएपनि प्रत्येक वडाका किसानलाई सेवा दिन जेटिएको व्यवस्था गर्ने बताउनुभयो । वहाँले विनियोजन गरेको कार्यक्रमहरु भने प्रभावकारी कार्यान्वयनमा समेत जोड दिनुभयो ।
भोक्राहा नरसिंह गाउँपालिका ७ का वडाध्यक्ष रामचन्द्र यादवले कृषकहरु व्यसायिक हुनुपर्ने भन्दै त्यसकोलागि गाउँपालिका र वडाबाट हुने सहयोग गर्न तयार रहेको बताउनुभयो । हरेक वडाका कृषि तथा पशु सेवाको प्राविधिकहरु नियुक्ती गर्नुपर्ने, धान, गहुँ र मकैुंको बिउमा अनुदान, पशुपालक किसानलाई घाँसको बिउमा अनुदान दिनुपर्ने आवश्यकता रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा कृषि शाखा प्रमुख रेनुका चौधरीले गाउँमा रहेको रैथाने बालीको संरक्षण गरी जैविक विविधताको संरक्षण गरिनुपर्ने र त्यसकोलागि पालिकाले नीति नै बनाउनुपर्ने बताउनुभयो । चौधरीले कृषिमा माटो परीक्षण नगरी अनाधिकृत रुपमा प्रयोग भएको रसायनीक मल र विषाधीले माटोमा असर पारेको उत्पादनमा ह्रास आएको बताउनुहुदै माटो परिक्षण गराउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा कृषि शाखा प्रमुख चौधरी पालिकामा कृषिको प्रचुर सम्भावना रहेको र कृषकहरुलाई पनि अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
किसान सेराज आलमले मौसमी तथा बेमौसमी तरकारी खेती मार्फत कृषकहरुलाई व्यसायीकरण गर्ने, गाई पालन, बाख्रा पालन, भैसी पालन, हासँ पालन र कुखुरा पालन गर्ने कृषकलाई अनुदानको कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा पशु शाखा प्रमुख कपिलदेव यादवले पशुका लागि घाँस आवश्यक भएकाले घासमा अनुदान दिनुपर्ने, किसानलाई उन्त जातको पशु पालनका लागि तालिम दिनुपर्ने र नस्ल सुधार कार्यक्रमलाई व्यापक बनाउनुुपर्ने बताउनुभयो । अर्का पशु अधिकृत मोहमद कलाल कैयुमले पनि उन्नत जातको पशु पालन र आधुनिक कृषि खेती आवश्यक रहेको र त्यसका लागि सरकारको बजेट र निती आवश्यक रहेको बताउनुभयो ।
मानव अधिकार समूहका सहसंयोजक मुर्सिद आलमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सबै वडाका अध्यक्ष तथा सदस्यहरु, गाउँपालिका उपाध्यक्ष पुनमकुमारी मेहता, मानव अधिकार समूहका दिपेन्द्र यादव, ममता उराँव, सुरेन्द्र मेहता, पुजाकुमारी मण्डल, रामकुमार यादव, अनिता मण्डल, अबदुल मियाँ, सेराल अंसारी, नुनुलाल साह, कृषक पुनम पौदार, तुलासा निरौला, जियावुल मियाँ, कुमारबहादुर बस्नेत, पशु प्राविधिक कलाम कैयूम अन्सारी, कपिलदेव यादव सहित ४० जना सरोकारवालाहरुले मन्तव्य राखेका थिए ।