नेपालको गौरव सगरमाथामाथि नियन्त्रण जमाउने चीनको प्रयास, एकलौटी रुपमा फाइभजी नेटवर्क विस्तार
२७ बैशाख २०७७, शनिबार २०:१४
चीन । उत्तरी छिमेकी चीनले नेपाललाई विश्वमा चिनाउने संसारकै सर्वोच्च शिखर सगरमाथामा आफ्नो नियन्त्रण कायम राख्न प्रयास सुरु गरेको छ। ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथामा इन्टरनेटको फाइभजी नेटवर्क जोड्दै सम्पूर्ण गतिविधिमाथि निगरानी सुरु गरेको हो।
चीनले गत बिहीवारदेखि टोली पठाएर सगरमाथाको उचाई मापन गर्न सुरु गरेको छ। नेपाल सरकारसँग कुनै समन्वय नगरी चीन उचाईं नाप्न उक्लिँदा फाइभ जी पनि विस्तार गरेको छ।
चिनियाँ सरकारी समाचार संस्था सिन्हवाका अनुसार सगरमाथामा मोबाइल नेटवर्कको नयाँ टेक्नोलोजी 5G अपरेसन सुरू गरेको हो। बिहीबार मध्यान्ह तिब्बततर्फबाट ६ हजार पाँच सय मिटरको उचाइमा ५(जी डाटाबेस खडा गरिएको हो। चाइना मोबाइल र हुवावेई कम्पनीले संयुक्त रूपमा 5G जडान गरेपछि अब सगरमाथा क्षेत्रमा नेटवर्क सुविधा उपलब्ध हुनेछ।
गत अप्रिलदेखि चीनले सगरमाथा बेसमा फोरजी र फाइभजी स्थापनाका लागि प्रयास गरिरहेको थियो। राष्ट्रिय प्राकृतिक संरक्षण र सगरमाथा आधार क्षेत्रमा ठूलो किसिमका निर्माण सामग्री प्रतिबन्धित रहेकाले चाइना युनिकमले १० जना निर्माणकर्मीमार्फत् अप्टिकल केबल, एन्टेना, सम्बन्धित अन्य सामग्रीहरू ५ हजारभन्दा माथिको उचाइमा बोकेर पुर्याएको थियो।
फाइभजी नेटवर्क पुर्याएर चीनले सगरमाथामाथि अघोषित रुपमा कब्जा जमाउन सफल भएको छ। सगरमाथामा हुने हरेक गतिविधिमाथि अब चीनको निगरानी हुनेछ।
यससँगै अब सगरमाथा नेपालको एकलौटी भूभाग रहेन। चीनले आफ्नो तर्फबाट माउन्ट एभरेष्टको उचाईं नाप्न सुरु गरेको छ। चीनले फाइभ जी नेटवर्क यसकारण जडान गर्यो कि जसबाट उ सगरमाथामाथि आफ्नो अधिकार देखाउन सकोस। चीनको कदममाथि नेपालमा आशंका पैदा भएको छ।
धेरै यसलाई लिपुलेक प्रकरणको काउन्टरका रुपमा हेरेका छन्। तिब्बतको भुभागमा पर्ने क्षेत्रमा द्रुत गतिको फाइभजी इन्टरनेट जोडिएपछि पर्वतारोहीले उच्च गतिको इन्टरनेट पाउनेछन् तर नेपालको गोपनियता र सुरक्षामा भने प्रश्न उठेको छ।
चाइना मोबाईलको तिब्बत शाखाका महाप्रबन्धक झो मिनले यो सुविधाले हिमाल आरोहण, वैज्ञानिक अनुसन्धान, वातावरणीय अनुगमन र उच्च परिभाषा प्रत्यक्ष प्रसारणका गतिविधिहरूको लागि दूरसञ्चार सुनिश्चित गर्ने उल्लेख गरेका छन्।
उनका अनुसार तिब्बतको दुर्गम हिमालयन क्षेत्रमा विश्वको सबैभन्दा उच्च उचाईको आधार स्टेशनले सञ्चालन गरेपछि चिनियाँ पक्षबाट सगरमाथा आरोहण गर्नेहरूले अब तीव्र गति फाइभ जी कभरेजको आनन्द लिन सक्नेछन्। हुवावे र चीनको राष्ट्रिय दुरसञ्चार प्राधिकरणको सहकार्यमा तिब्बततिरको सगरमाथामा फाइभजी पुर्याइएको हो। यसबाट चिनियाँलाई त फाइदा हुनेछ। तर नेपालतिर भने सुरक्षा चुनौती देखिएको छ। किनकि फाइजी प्रविधिबाट सम्पूर्ण पर्वतारोहीको विवरण चीनले पाउनेछ । र पर्वतारोहीको गोपनियता हनन हुनेछ।
विगतमा तत्कालिन प्रधानमन्त्री विपी कोइरालाले चीनसँग सगरमाथाको विवाद सुल्झाएजस्तै अहिलेको सरकारको नेतृत्वले पनि फाइभ जीबाट हुनसक्ने बेफाइदा र जोखिमबारे छलफल गर्न आवश्यक छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया