पार्टीमा एकताको लागि प्रचण्ड नेपालहरु सुध्रिन जरुरी : पोखरेल
१५ माघ २०७७, बिहीबार १८:२३
दुहवी (सुनसरी)। संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता ईश्वर पोखरेलले पार्टी भित्रमा आएको बिबाद समाधानका लागि दुई शर्तमा साथीहरु सहमत भए पार्टी एकता हुनसक्ने बताउनुभएको छ । सुनसरीको दुहवीमा आयोजित जिल्ला स्थरीय वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुदै नेता पोखरेलले २८ कात्तिकमा दर्ता भएको आरोप पत्र फिर्ता लिनुपर्ने र बैशाख १७ र २७ गते हुने चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताउनुभएको हो ।
वहाँले अहिले पनि जुन अराजकता, अस्थिरता र बिवाद सिर्जना गर्न खोजिएको छ, त्यो देश र जनताको भावनामा चोट पु¥याउन खोजिएको जस्तो छ, एकतालाई कायम राख्ने हो भने यी दुई कुरा गर्न सकिने बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले वर्तमान प्रधानमन्त्री समेत रहनुभएको केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेकपा नै आधिकारिक पार्टी भएको बताउनुभयो ।
वहाँले निर्वाचन आयोगले समेत प्रष्ट रुपमा निर्णय दिएकाले ओली नेतृत्वको पार्टी नै नेकपाको आधिरिक पार्टी भएको बताउनुहुदै कोही कसैले द्धिविधामा रहन नहुने बताउनुभयो । वहाँले जनतासंग ताजा जनादेशका लागि निर्वाचन घोषणा गरिएकाले समयमा नै निर्वाचन हुने र त्यसमा ओलीको हस्ताक्षर भएको उम्मेदबारले चुनाव लड्ने र जित्ने समेत दावी गर्नुभयो
।
वहाँले ओलीलाई मानेर आउनेहरुलाई स्वागत गर्ने र जानेहरुलाई अर्को कुनै नामको पार्टी खोल्न र चुनाव चिन्ह लिएर आउन चुनौती दिनुभयो । नेता पोखरेलले अव हुने चुनावमा नेकपाको चुनाव चिन्ह सूर्य हुने भएकाले अरुको हल्लाको पछी नलाग्न समेत अपिल गर्नुभयो । देशभर जनलहर रहेकाले आफ्नै पार्टी जित्ने दावी गर्नुहुदै जनता अदालत भएकाले अदालतको फैसला पुरस्कार वा दण्ड जे दिएपनि नेकपा स्विकार गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा भएकोले अरुको कुनै दबाव,प्रभावमा नपर्न समेत आग्रह गर्नुभयो । उहाँले सूर्य चिह्न कसको हुन्छ भन्ने कुरामा समेत द्विविधामा नपर्न भन्दै कार्यकर्तालाई आश्वस्त पार्नुभयो ।
आधिकारिक नेकपा जसको हो उसैको सूर्य चिह्न भएकाले सूर्च चिह्न आफूहरूको नै भएको दोहोरयाउनुभयो ।
कानुनी रूपमा समेत निर्वाचन आयोगले ओलीलाई अध्यक्ष मानेको र पार्टी नेकपा तथा सूर्य चिह्न समेत उसैको भएको भनेकाले यसमा कोही कसैले द्धिविधा मान्नुपर्ने कुरा नै नभएको दावी गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य समेत रहनुभएका पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको कारण नेकपा फुटेको आरोप लगाउनुभयो । नेकपा एमाले र माओवादी एक हुँदा सबैमा खुशीयाली आएपनि त्यो क्षनिक भरको रहेको बताउनुभयो ।
उहाँले पार्टी एकतापछि मुलुकमा स्थायी सरकार, शान्ती, विकास, समृद्धि र राजनीतिक स्थिरता हुन्छ भनी सबैले सोँचेपनि सरकार बनेको बेलादेखी नै आफ्नै पार्टी भित्रबाटको असहयोगका कारणले यो अवस्थामा आएको बताउनुभयो ।
वहाँले जनताको आवश्यकता र मुलुकको विकास बारे कहिले पनि छलफल नगरी कहिले मेरो फ्लानो मान्छेलाई मन्त्री बनाई दिनु त कहिले राजीतिक नियुक्त गर्नु भनी प्रचण्ड–नेपाल समूहले झमेला गर्दै आएको आरोप लगाउनुभयो ।
पुष्पकमल दाहाल र माधव नेपालको पदीय लोलुप्ता तथा कुण्ठाको कारणले पार्टी विभाजनको अवस्थामा पुगेको बताउनुभयो ।
यहाँ आयोजित जिल्ला स्तरीय वृहत अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उपप्रधामन्त्री पोखरेलले पार्टीका अर्का अध्यक्ष प्रचण्ड वरिष्ठ नेता नेपालको राजनीतिक कुण्ठाले गर्दा नेकपाको दुर्दशाको अवस्था भएको बताउनुभयो ।
उहाँले ६४ प्रतिशत मत ल्याई संसदीय दलका नेतालाई प्रधानमन्त्री पदबाट राजीनामा दिनु भनी हास्यापद कुरा उठाएर पटक पटक विवाद गर्ने गथ्र्यो अन्ततः असहनीय भएपछि पार्टी र देशलाई बचाउन जनतालाई फैसला गर्न दिउ भनी संसद विघटन गर्नुपरेको र ताजा जनादेशमा जानुपर्ने अवस्था आएको बताउनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले दुई तिहाईको बहुमतले कुनै व्यक्तिले नभई जनताले दिएकोले पार्टीभित्रको किचिलो अन्त्य पार्न जनता जर्नादन समक्ष पुगेको बताउनुभयो । ‘पदमा बस्ने नबस्ने फैसला जनताले नै गरोस भन्ने उद्देश्यका साथ ताजा जनादेशका लागि निर्वाचनमा गएका हौं।’ वहाँले भन्नुभयो ।
प्रतिनिधि सभा विघटन संविधान र संघीयता ध्वस्त पार्न नभई क्रियाशील बनाउन गरेको उहाँ भनाई थियो ।
सोही कार्यक्रममा नेपाल कम्यूष्टि पार्टी नेकपाका अर्का नेता तथा प्रदेश सरकारका मूख्य मन्त्री शेरधन राईले सरकार स्थायित्व, सुशासन, विकास र समृद्धिका पक्षमा काम गरेकाले त्यसलाई नरुचाउने तत्वहरुले घेराबन्दी गर्न खोजेकाले त्यसको फैसला गर्न ताजा जनादेशका लागि चुनाव घोषणा भएको बताउनुभयो । वहाँले संविधान जारी भएको पहिलो निर्वाचनमा दुई ठूला पार्टीले गठबन्धन बनाएर आएको र त्यसमा ओलीलाई प्रधानमन्त्री बनाउनका लागि झण्डै दुई तिहाई मत दिएकाले त्यसलाई स्विकार गर्न नसकिने र नरुचाउने केही पात्रहरुले राजकिय सत्ता कव्जा गर्न खोजेकाले ताजा जनादेश नै उपयुक्त माध्यम भएको बताउनुभयो ।
वहाँले पार्टी भित्रको एकता विथोल्न केन्द्रमा प्रचण्ड र नेपाल सहति लागेको र प्रदेश १ मा भिम आचार्य सहितकाले लागेको बताउनुहुदै अराजकता, अस्थिरता र अन्यौलताबाट देशलाई जोगाउन निर्वाचनको घोषणा गरेको बताउनुभयो ।
अर्का नेता तथा प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री जगदिश प्रसाद कुसियैतले प्रदेशमा गलत नियतका साथ आएको अस्विस्वासको प्रस्तावलाई असफल पार्ने दावी गर्नुभयो । कुसियैतले नीति र विधिको साशन विपरित लागेकाहरुले पार्टी फुटको हल्ला चलाएको बताउनुभयो । सरकारले काकडभितादेखी कोशीसम्म रेलमार्ग सहितका लोकप्रिय कार्य गरेकाले त्यो आफ्नै पार्टीका साथीहरुलाई नपचेकाले बखेडा झिकेको बताउनुभयो ।
त्यसैगरी प्रदेश सरकारका कानुन मन्त्री हिक्मत कार्कीले स्वाधिन्ता र स्वाभिमानका लागि काम गर्दा घेराबन्दी गरेको बताउनुभयो । वहाँले जोसँगै काम गरेकाहरूले पनि अहिले केपी ओली यो पृथ्वीमा नरहेहुन्थ्यो भन्ने चाहना राखेको गुनासो गर्दै उहाँले कसैले चाहँदैमा त्यस प्रकारको अमानवीय चाहना र सपना पूरा नहुने बताउनुभयो । कार्कीले अध्यक्ष ओलीले शान्ति, समृद्धि, स्थायित्व र सुशासनका लागि पार्टी एकीकरण गरेको चर्चा गर्नुहुदै झगडा गरेर सडक आन्दोलनमा जान एकता नगरिएको स्पष्ट पार्नुभयो ।
‘देशले अग्रगमन चाहेको छ, शान्ति चाहेको छ । जनताले आफ्नो जीवनमा परिवर्तन चाहेका छन् र उनीहरूले असल अविभावक खोजेका छन्,’ कार्कीले भन्नुभयो, ‘त्यही कुराका लागि अध्यक्ष ओली अघि बढेको तर त्यो देख्न नचाहने र जनताका लागि राम्रो काम गरेको हेर्न नसक्नेले वहाँ विरुद्ध गुटबन्दी गर्दै अघि बढे तर उनीहरू असफल हुने निश्चित छ ।’
कार्यक्रममा केन्द्रिय सदस्य भगवती चौधरी, खेमराज पोखरेल, मुरारी सुवेदी, रेवतीरमण भण्डारी, तैयव हुसेन, देवराज घिमिरे सहितकाले बोल्नुभएको थियो । कार्यक्रममा १० हजार बढी जनसमुदायको उपस्थिती रहेको थियो ।
१, सुनसरीको दुहवीमा आयोजित नेकपाको जिल्ला स्थरीय वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुदै नेता इश्वर पोखरेल ।

२, सुनसरीको दुहवीमा आयोजित जिल्ला स्थरीय वृहत कार्यकर्ताभेलाका अथिति तथा नेताहरु


फेसबुकबाट तपाईको प्रतिक्रिया