कोशी स्नान तथा मेला भर्नेको घुइचो
१५ माघ २०७७, बिहीबार १२:४८
राजविराज । पौषशुक्ल पुर्णिमाका दिन सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ भारदहस्थित कोशी ब्यारेजमा आज बिहानै देखि कोशी स्नान र मेला भर्नेहरुको भिड लागेको छ ।
माघ महिनाको दोश्रो सातमा अत्यधिक चिसोको मोसम भएपनि सप्तरीको कोशी ब्यारेज लगायत जिल्लाको बिभिन्न स्थानमा रहेको जलाशायहरुमा नुहाएर पुषी पुर्णिमा मनाइँदैछ ।
हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा पनि बिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेहरुको समेत घुइँचो लागेको स्थानियबासी प्रवेश यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहानैदेखि बैलगाडा, मोटरसाइकल, रिक्सा, ई–रिक्सा, साइकल तथा अन्य ठुला ठुला बस र सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नान गर्नका लागि आउनेहरुको अहिले घुइँचो लागेको छ ।
कृषि मेलाको रुपमा समेत प्रचीत मानिएको यो एक दिने मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीहरुको खरिद बिक्रीका लागि पनि यहाँ कृषि क्षेत्रमा काम गर्ने कृषकसहित सर्वसाधरण मेला गर्न आउने गरेको पाइन्छ ।
यस कारण कृषक समुदायको कोशी मेलामा बढी उपस्थिति हुने गरेको र कोशी व्यारेज बाहेक सप्तरीको हनुमाननगर, ईटहरी विष्णुपुर, मेगजीन चुरीया, पथरी, झनकट्टा, मलकोर लगायतका स्थानहरुमा समेत भव्य साथ आज मेला लागेको छ ।
ब्यारेजमा सप्तरी, सिरहा, सुनसरी, मोरङ्ग, भारतको बिहार राज्य अन्र्तगत पुर्णिया, मधुवनी, फारबिसगञ्ज, अररिया लगायतका स्थानहरुबाट कोशी स्नान गर्न आउने गरेको भएपनि कोरोना माहामारीका कारण नेपाल –भारत सिमानाका बन्द भएका कारण यसपालि केही भारतीयको कमी देखिएको स्थानीय सञ्चारकर्मी राजु शर्माको भनाई छ ।
गत बर्षको तुलनामा यस बर्ष कोशी मेलामा भारतीय पर्यटकको कमी देखिएपनि सप्तरी जिल्लासहित अन्य ठाउँबाट यहाँ मेलामा रमाइलो गर्न र कोशीमा स्नान गरि मिठो मिठो परिकार ल्याएर खाने गरेको देखिएको छ ।
पौषशुक्ल पुर्णिमाका दिन कोशी स्नान गरेपछि पापबाट मुक्ति पाउने तथा गंगास्नान गरे सरह पुण्य मिल्ने जनविश्वास रहेको छ । यस दिन बिहानै कोशी लगायतका जलासयहरुमा नुहाएर मिठोचोखो खाने चलन रही आएको छ ।
पुषी पूर्णिमाका दिन जलाशायहरुमा नुहाए पापबाट मुक्ति पाउने र गंगास्नान गरे सरह हुने जनविश्वास रहँदै आएको त्यहाँका बृद्धबिद्धाको भनाई रहेको छ ।
खास गरि दही, च्यूरा, पुरी, तरकारी, जेरी सहितका मिठाईहरु यस दिन मुख्य रुपमा खाइन्छ । कोशी नदीलाई कौशिका माताको रुपमा पूजा गर्ने चलनका समेत रहेका कारणले पनि यस पूर्णिको दिन कोशी स्नान गर्न आउनेहरुको संख्या अत्यधिक रहने गरेको भारदहका स्थानिय पण्डित मिरकुनजाय झाले बताउनुभयो ।
त्यस्तै जिल्लाको अन्य ठाउँहरुमा रहेका कोशी नदीबाट बग्ने साना साना नहरहरुमा पनि स्नान गरेर आज कोशी मेलामा रमाइलो गर्नेहरुको भिड लागेको पाइएको छ ।
कोशी स्नानका लागि विदा
पौषशुक्ल पुर्णिमाका दिन आज जिल्लाको हनुमाननगर कंकालिनी नपा, महदेवा गापा तथा सप्तकोशी नपाले आज बिदा दिएको छ ।
पौष शुक्ल पुर्णिमाको दिन यो क्षेत्रमा भव्य मेला आयोजना हुने भएको र सोही दिन हिन्दु अनुयायीहरुको कोशी स्नान गर्ने शुभ साईत भएकाले एक दिनका लागि स्वास्थ्य सेवा बाहेक अन्य कार्यालयहरुमा विदा दिएका छन ।
कोशीकै क्षेत्रमा रहेका ति गाउँपालिका र नगरपालिकाले गाउँ तथा नगर क्षेत्रमा रहेका कोशी स्नान र कोशी मेलाका लागि विदा दिएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया