कोशीका किसानका लागि प्रोत्साहनका कार्यक्रम ल्याउने, किसानलाई पशु प्रसुती भत्ता
१२ माघ २०७७, सोमबार १७:१३
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा माघ १२ सुनसरीको कोशी गाउँपालिकामा खाध्याको अधिकारबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेकद्वारा गठित गाउँपालिकास्तरीय मानव अधिकार समूहको सहकार्य तथा कोशी गाउँपालिकाको समन्वयमा कृषि,पशु शाखा, किसान र सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
महिलालाई प्रसुति सुविधा तथा अस्पतालमा बच्चा जन्माउनेलाई प्रसुति भत्ता दिदै आएको सबैले सुनेको बुझेको कुरा भएपनि सुनसरीको कोशी गाउँपालिकाले अर्को पशु प्रसुती भत्ता कार्यक्रम ल्याएको छ । यसै वर्षको फागुनबाट लागु हुने गरि किसानलाई पशुप्रसुती भत्ता प्रदान गर्ने भएको छ । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले गाउँपालिकामा पशु किसानलाई प्रोत्साहन गर्न र उन्नत जातका दुधालु गाईभैँसी पानलका लागि प्रोत्साहन स्वरुप पशुप्रसुती भत्ता प्रदान गर्ने कार्यक्रम ल्याउन लागेको बताउनुभयो । 
सोमवार कोशी गाउँपालिकामा आयोजित खाद्यय अधिकार कार्यक्रममा अध्यक्ष अन्सारीले कृषितर्फ किसानलाई आधुनीकीकरण, ब्यावसायीकरण र बजारीकरणका लागि कार्यक्रमसँगै पशुपालन तर्फ प्रोत्साहन गर्न भैँसी र गाई पालक किसानलाई पशुप्रसुती भत्ता प्रदान गर्ने तयारी गरेको बताउनुभयो ।
गाउँपालिकाले प्रदान गर्ने पशुप्रसुती भत्ताका लागि कार्यविधी निर्माण गरेर तत्कालै कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष अन्सारीले किसानको जिविकोपार्जन पनि हुने र आयआर्जन सहित पालिकालाई खाद्यय र दुध तथा मासुमा आत्मनिर्भरका लागि सहज हुनेगरी पशु बिमा सहित पशु प्रसुति भत्ता कार्यक्रम ल्याउन लागेको बताउनुभयो । 
वहाँले कृषिमा अर्गानिक उत्पादन तर्फ ध्यान दिन समेत किसानहरुलाई अपिल गर्नुभयो । अन्सारीले गाउँपालिकामा अध्यक्ष कृषि आधुनीकीकरण कार्यक्रम अन्र्तगत सात जना किसानलाई ५० प्रतिशत अनुदानमा कागतीको बिरुवा र प्राविधिक सहयोग गरेको बताउनुहुदैं अन्य कागती गर्ने किसानलाई समेत ५० प्रतिशत अनुदान सहयोग दिने कार्यलाई निरन्तरता दिएको जानकारी दिनुभयो ।
सोही कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले गाउँपालिका गाउँ गाउँमा प्रशस्त पूर्वाधार कृषि पर्यटन विकासको आधार मूल नारा नै तय गरेकाले कृषि क्षेत्रलाई उपेक्षा गर्न नसकिने बताउनुभयो । गिरीले गाउँपालिकाको कृषि सहित समग्रक्षेत्रको विकासको लागि आवधिक योजना निर्माणमा लागेको बताउनुभयो । वहाँले खाद्यय अधिकार मानव अधिकार सँग जोडिएको विषय भएकाले यसको गुणस्तरीयता र उत्पादनमा बृद्धि गर्न जरुरी रहेको बताउनुभयो । गाउँपालिकाको कामकर्वाही व्यवस्थि तगर्न आर्थिक शाखा, सामाजिक शाखा, प्रशासन शाखा, कृषि शाखा, पशु शाखा सहित बिषयगत शाखाहरु सञ्चालनमा रहेको बताउनुहुदैं सबै शाखाको समन्वयमा गाउँपालिकाले पाँचवर्षे आवधिक योजना निर्माणको लागि कार्यको थालनी गर्न लागेको बताउनुभयो । 
कार्यक्रममा पशु विकास शाखाका गोसाई यादवले आफू आफनो श्रोत साधनले भ्याएसम्म जनताको सेवामा लागि परेको बताउँदै किसानका लागि कृषि सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने , दुध उत्पादन बढाउन किसानलाई घाँस खेतीतर्फ प्रोत्साहन गर्नुपर्ने, पशु स्वास्थ्य शिविरहरु सञ्चालन गर्नुपर्ने, पशु विमा गर्नुपर्ने बताउनुभयो । गाउँपालिकामा आफूहरुले उन्नत जातको पशुपालनका लागि प्रजनन तथा नश्ल सुधार कार्यक्रम गर्दै आएको बताउनुभयो । यस कार्यक्रमलाई थप व्यवस्थि तगर्न सरकारले बजेट बिनियोजन गर्नुपर्ने बताउनुभयो । त्यसैगरी पशुशाखा लौकहीका प्रमुख मोहन कुमार सिंहले किसानलाई पशुमा दुध उत्पादन बढाउन घाँसको बिउ वितरण गर्नुपर्ने, दुधका लागि चिसियान केन्द्र स्थापना गर्नुपर्ने र गाउँवडामा किसान सचेतना सम्वन्धीको कार्यक्रम गर्नुपर्ने बताउनुभयो । गाउँपालिकामा एउटै पशुशाखा रहेकोमा सेवा बिस्तारका लागि हरिपुरमा समेत पशु सेवा केन्द्र स्थापना भएको र किसानहरुलाई कृषक समुह तथा फर्मका लागि गाउँपालिकाले निःशुल्क सहजीकरण गरिरहेको अध्यक्षका स्वकीय सचिव धर्मेन्द्र विश्वासले बताउनुभयो । कार्यक्रममा कोशी गाउँपालिकाका १ नम्बर वडाध्यक्ष राजकुमार साहले देश कृषिप्रधान भएकाले कृषका लागि थप कार्यक्रम ल्याउन आफू प्रयासरत रहेको बताउनुभयो ।
मानवअधिकार समूह कोशीको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको सहयोगमा सम्पन्न कार्यक्रममा पूर्वसभासद सविता यादव, नेकपाका स्थानीय नेता मन्टुन यादव, मानव अधिकारका संयोजक रमेश भट्टराई लगायतका सरोकारवालाहरुले खाद्यय अधिकारका बारेमा बोलेका थिए । त्यसैगरी कृषि र पशुको सवाल तथा खाद्यय अधिकारका बारेमा विद्यार्थी निरज यादव, अरविन्द यादव, ललन मेहता, प्रियंका यादव, सलौनी गुप्ता, रोशनी गिरी, केशव मण्डल, नरेश यादव, दिपेन यादव, धनराज मण्डल लगायतकाले जिज्ञासा राखेका थिए । सोही कार्यक्रममा मानव अधिकार समूहका चन्द्रकला नेपाल, गिता पौडेल, बिष्णु कुमार यादव, मुस्ताक आलम, पवन रौनियार, राजकुमार शर्मा, अन्जु खातुन लगायतकाले पशु र कृषि सेवामा गरेको अनुगमनका क्रममा पाइएको अवस्थाको बारेमा सामुहिक प्रस्तुती गरेका थिए । कार्यक्रम मानव अधिकार समूहको अध्यक्ष अनिता उराँवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया