लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्नेः राजेन्द्र महतो – Nagarikabhiyan : National News

लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्नेः राजेन्द्र महतो

राजविराज  । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताउनुभएको छ ।

सप्तरीको राजविराजमा आज प्रेस मञ्च र प्रेस नेपाल सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई मान्य हुने बताउदै निर्वाचनबाट भाग्न नचाहेको प्रस्ट पार्नभयो ।

उहाँले अहिलेको समस्याको समाधान चुनाव वा पुनःस्थापना दुवैले दिन नसक्ने जिकिर गर्दै मुलुकको समस्याको स्थायी समाधान औपनिवेशिक चिन्तनको अन्त्य भए मात्र हुन सकिने उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हिटलरशाही’ देखाएको महतोको आरोप थियो ।

उहाँले वैकल्पिक शक्तिका रूपमा जनता समाजवादी पार्टीको उदय भएको भन्दै यही पार्टीले हिमाल, पहाड र मधेशको हित गर्ने कुरा आमजनताले अनुभूति गरिरहेकोले जनलहर बढेको दावी गर्नुभयो ।

आन्दोलनमा हिमाल, पहाड र मधेशका आदिवासी, जनजाति, दलित, मुस्लिम, खस आर्य लगायत शोषित उत्पीडित सम्पूर्ण जनताको सहभागिता रहनेछ र अब हुने आन्दोलन अन्तिम एवम् निर्णायक हुनेछ भन्नुभयो ।

प्रतिनिधि सभा पुनरस्थापना नै वर्तमान राजनीतिक समस्याको निकास रहेको बताउँदै अदालतबाट यो समस्याको निकास पाउने र संविधान एवम् लोकतन्त्रको पक्षमा निर्णय आउनेमा आफुहरु आशावादी रहेको नेता महतोले बिश्वास ब्यक्त गर्नुभयो ।

सम्मानित अदालतको फैसला आफुहरुलाई मान्य हुने बताउँदै ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई विफल पार्ने प्रयास भईरहेकोले हामी त्यस विरुद्ध आवाज उठाएका हौं, लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन तर चुनाव समस्याको समाधान होइन, देशमा फेरी अर्को सङ्कट निम्तिने खतरा निम्तिन सकिने उहाँले उल्लेख गर्नभयो ।

नेता महतोले भन्नुभयो सिमा वारी र पारी बेटी रोटीको सम्वन्ध रहँदैआएको छ तर सिमामा सहज आवागमन नभएका कारण दुलहा दुलहीलाई समेत खेत भएर पैदलै हिडेर आवत जावत गर्नुपर्ने अवस्था देखिएको छ ।

अझैं पनि मधेशमा नागरिकता समस्या विद्यमान रहेको चर्चा गर्दै वरिष्ठ नेता महतोले लाखौं लाख जन्मसिद्ध सन्तान नागरिकता विहीन भएर थरिथरीका समस्या झेल्नुपरेको उहाँले जोड दिनुभयो । प्रेस मञ्चका सप्तरीका जिल्ला अध्यक्ष शुभचन्द्र झाको अध्यक्षमा पत्रकार सम्मेलनमा सम्पन्न भएको थियो ।