संसद विघटन सम्बन्धी मुद्दा : संवैधानिक इजलासमा सुनुवाइ सुरु
४ माघ २०७७, आईतवार १२:४२
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटन सम्बन्धी मुद्दामा सुनुवाइ सुरु भएको छ ।
आइतबार निवेदकहरूले समय मिलाउन माग गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले इजलाशले हाेइन आफैं समय मिलाएर बाेल्न निवेदकहरुलाई आग्रह गर्दै बहस सुरू गर्नुभएकाे हाे । रिट निवेदकले सबै निवेदक र कानुन व्यवसायीले बहस गर्न पाउनुपर्छ भन्दै समय तोकिदिन माग गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आइतबारबाट विषयवस्तुमा प्रवेश गरेर बहस सुरु भएको हो । सुनुवाइ लगातार हुने सर्वोच्च प्रशासनले जनाएको छ ।
यसअघिका बहस रिट निवेदनकाे सुनुवाइ बृहत् पूर्ण इजलास कि संवैधानिक इजलासमा गर्ने भन्ने बारेमा थियाे । त्यसकाे टुङ्गो लागेसँगै आइतबारबाट संवैधानिक इजलासमा नै निरन्तर सुनुवाइ हुने भएको हो ।
यसअघि शुक्रबार (माघ १ गते) गम्भीर संवैधानिक विषयकाे मुद्दा भएकाले उक्त रिटहरूमाथि संवैधानिक इजलासमा नै सुनुवाइ गर्ने टुंगाे लागेकाे थियाे । संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विषयमा गत पुस २२ र २९ गते पनि बहस भएकाे थियाे ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभएकाे थियाे, सजसालाइ राष्ट्रपतिले साेही दिन अनुमाेदन गर्नुभयाे । प्रधानमन्त्रीकाे उक्त कदमविरुद्ध पुस ६ गते सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन दायर भएका थिए । ती रिट निवेदनमा प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक कदम भएको दाबी गर्दै संविधानकाे मर्मअनुरूप प्रतिनिधि सभा पुनर्स्थापना गरिदिन सर्वाेच्च अदालतसामु माग गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया