लेखराजले माओवादी सिध्याउने ‘धमिरा’ भन्दै नंग्याए नारायणकाजीलाई, प्रचण्डको निर्णयले भट्टलाई पछुतो ! – Nagarikabhiyan : National News

लेखराजले माओवादी सिध्याउने ‘धमिरा’ भन्दै नंग्याए नारायणकाजीलाई, प्रचण्डको निर्णयले भट्टलाई पछुतो !

कैलाली । आजकल नेकपा दाहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठको चर्चा निकै छ । नेकपा विभाजनउन्मुख हुँदै गर्दा आफ्नै स्वकीय सचिवसँगको सम्बन्धलाई लिएर चर्चामा आएका श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वमाओवादी सहयोध्दाले समेत आलोचना गरिरहेका छन् । श्रेष्ठको योगदान र प्रवृत्तिमाथि आलोचना हुँदै आएको छ । प्रधानमन्त्री ओलीले कुनै योगदान नभएका नारायणकाजीको काम नभएको बताउँदै आएका छन् । उनले नारायणकाजीलाई प्रवक्ताबाट पनि हटाइसकेका छन् ।

यता नारायणकाजीका पूर्वसहयोध्दा एवं हाल ओली समूहमा रहेका नेता लेखराज भट्टले पनि आलोचना गरेका छन् । धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका भट्टले पूर्व माओवादी छिन्नभिन्न हुनुको कारण नारायणकाजी श्रेष्ठ रहेको जिकिर गरे ।

प्रचण्डले पार्टीमा श्रेष्ठलाई ल्याएपछि पूर्व माओवादीको अवसान सुरु भएको उनको भनाई थियो । ‘शान्ति प्रक्रियामा आइसकेपछि जनमोर्चा एकता केन्द्र भन्ने जोडिएको थियो,’ नेता भट्टले भने, ‘त्यहीँबाट पूर्व माओवादीको अवसान हुन सुरु भएको हो ।’ नेता भट्टले श्रेष्ठलाई एकतामा ल्याउनु ठुलो भूल भएको भन्दै प्रचण्डको निर्णयले पछुतो लागेको बताए ।

‘यदि उहाँलाई त्यो एकतामा नल्याएको भए माओवादी पार्टी हिजोको भन्दा ठूलो बलियो हुने थियो,’ उनले भने, ‘नारायणकाजी त्यो पार्टीमा धमिरोको रूपमा पसे र आज पनि यहाँ त्यही गरे ।’ वैद्य,बादल र विप्लवले पार्टी छोड्नुको कारण पनि श्रेष्ठ रहेको भट्टको तर्क थियो ।