कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु – Nagarikabhiyan : National News

कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु

एजेन्सी। विश्वभर कोरोनाभाइरसबाट संक्रमित भएका मध्ये ६०२ पत्रकारको मृत्यु भएको छ ।

सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो ।

सो संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु पनि अग्रपङ्क्तिमा हुने भएकाले उनीहरुलाई कोरोनाविरुद्धको खोपमा पनि प्राथमिकता दिन आग्रह गरेको छ ।

प्रेस एम्ब्लेम क्याम्पेन (पीईसी)ले विश्वभरी कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो । तीमध्ये आधाभन्दा बढी अर्थात् ३०३ जना ल्याटिन अमेरिकी मुलुकका परेका छन् ।

त्यसैगरी एसियाका १४५ जना रहेका छन् भने युरोपका ९४ जना, उत्तर अमेरिकाका ३२ जना र अफ्रिकाका २८ जना रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

स्विट्जरल्याण्डको जेनेभामा कार्यालय रहेको यस संस्थाले पत्रकारहरु समाचार सङ्कलन तथा प्रसारणका लागि सम्बन्धित ठाउँमा नै जानु पर्ने भएकाले उनीहरुमा सङ्क्रमणको खतरा धेरै रहेको बताइएको छ ।

“पत्रकारहरु स्थलगत रुपमा काम गर्नु पर्ने व्यावसायिक प्रकृतिका भएकाले सङ्क्रमणको सम्भावना बढी हुन्छ, त्यसैले उनीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन पनि प्राथमिकता दिनुहुन सबैलाई अनुरोध छ,” पीईसीका महासचिव ब्लैस लेम्पेनद्वारा जारी वक्तव्यमा लेखिएको छ ।