भारतमा एभिअन फ्लूको संक्रमण, सीमामा उच्च सतर्कता
२२ पुष २०७७, बुधबार १४:४०
भारतका विभिन्न ठाउँमा हाँस र कौवामा एभिअन फ्लूको सङ्क्रमण देखिएपछि त्यहाँ हजारौँ पन्छीहरू मार्न थालिएको छ। योसँगै नेपालमा पनि उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरुले बताएका छन् ।
विभिन्न राज्यमा धेरै सङ्ख्यामा चरा मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लू भएको थाहा पाएका थिए। भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ।
भारतमा उच्च सतर्कता
भारतको सङ्घीय सरकारले उच्च सतर्कता जारी गर्दै फ्लू फैलिन नदिनका लागि आपत्कालीन उपायहरू अपनाउन भनेको छ। मानिसहरूलाई मरेका वा बिरामी देखिएका चराहरू नछुन भनिएको छ।
कोरोना भाइरस महामारीबाट जुझ्नका लागि भारतले आउँदा महिनाहरूमा दशौँ लाखमा खोप लगाउने काम थालिरहँदा त्यहाँ उक्त सङ्कट देखा परेको हो। केही जिल्लाहमा पन्छी बिक्री गर्ने पसलहरू समेत बन्द गरिएका छन् भने अन्डा बिक्रीको काममा समेत रोक लगाइएको छ।
कहाँ कस्तो प्रभाव?
उत्तरी राज्य हिमाचल प्रदेशमा साइबेरिया र मङ्गोलियाबाट बसाइसराई गर्दै आएका झन्डै २,४०० चराहरू खोया हाँसहरू मरेको पाइएको बीबीसीले जनाएको छ। त्यस्तै केरला राज्यमा समेत १२ हजार हाँस मरेपछि राज्यको मापदण्ड अनुसार विभिन्न ३६ हजार पन्छी मारिएको छ।
मध्य प्रदेशमा पछिल्लो १० दिनमा सयौँ कौवा मरेका पाइएकामा हालै बकुल्ला र सुगाहरू समेत त्यसमा थपिएका छन्। त्यहाँको इन्दोर सहरमा ५० वटा मरेका कौवाहरू भेटिएपछि अधिकारीहरूले आसपासमा रुघाखोकी र ज्वरो आएका मानिसहरू छन् किन भनेर जाँच गरेका थिए। हरियाणा राज्यमा समेत हजारौँ पालिएका पन्छी मरे पनि त्यो बर्ड फ्लू नै भएरनभएको पुष्टि भएको छैन। उसका छिमेकी राज्य गुजरात र राजस्थानलाई समेत उच्च निगरानीमा राखिएको छ।
नेपालमा पनि निगरानी
भारतमा एभिअन फ्लूको सङ्क्रमण देखिएसँगै नेपालमा पनि उच्च सतर्कतासँगै सीमामा निगरानी बढाउनुपर्ने विज्ञहरुले बताएका छन् । नेपाल भारत खुला सीमा रहेको र सहजै नेपाल भित्रिनसक्ने अवस्था विद्यमान रहेको भन्दै विज्ञहरुले सम्बद्ध निकायले उच्च निगरानी गर्नुपर्ने बताए । अन्यथा कोरोना भाइरसजस्तै एभिअन फ्लूको सङ्क्रमण पनि फैलिने खतरा रहेको उनीहरुले औल्याएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया