संवैधानिक इजलासमा बहस शुरु, बाहिर माइकको व्यवस्था – Nagarikabhiyan : National News

संवैधानिक इजलासमा बहस शुरु, बाहिर माइकको व्यवस्था

काठमाडौं  । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको आजदेखि संवैधानिक इजलासमा बहस सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले के निर्णय गर्छ भन्नेमा सबैको चासो रहेको छ । सर्वोच्च अदालतको इजलासमा ठाउँ नपुग्ने भएपछि बाहिरबाट पनि बहस सुन्ने र हेर्ने व्यवस्था मिलाइएको छ ।

सर्वोच्चका अनुसार अदालत परिसरको प्रतीक्षालयमा माइक जोडेर बहस सुन्ने व्यवस्था मिलाइएको छ भने नेपाल बार एसोसिएसन भित्रको हलमा इजलासको भिडियो पनि लाइभ गरिनेछ । यसअघि पनि सर्वोच्चले आमचासोको मुद्दा हुँदा यसरी माइक जोडेर इजलासमा हुने बहस सुन्ने व्यवस्था मिलाउँथ्यो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ ।

संवैधानिक इजलासमा पुरानै टिम
प्रतिनिधि सभा विघटाविरुद्धको रिटको सुनुवाई गर्न यसअघि नै गठित संवैधानिक इजलासलाई नै सर्वोञ्च अदालतले निरन्तरता दिएको छ । आजबाट निरन्तर सुनुवाइ सुरु गर्नुअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पुरानै संवैधानिक इजलासलाई निरन्तरता दिएका छन् ।

प्रधानन्यायाधीश जबराको नेतृत्वको इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । इजलासमा वरिष्ठलाई पन्छाएर कनिष्ठ सदस्यलाई राखिएको भन्दै आलोचना हुँदै आएको छ । कतिपय कानुन व्यवसायीहरुले संसद विघटनको मुद्दा संवैधानिक इजलासको सट्टा वुहत पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने मागसमेत राखेका छन् ।द नेपालटप