सेन्ट्रेल भिस्टाः मोदीको ‘ड्रिम प्राजेक्ट’लाई सर्वोच्चको सशर्त मञ्जुरी – Nagarikabhiyan : National News

सेन्ट्रेल भिस्टाः मोदीको ‘ड्रिम प्राजेक्ट’लाई सर्वोच्चको सशर्त मञ्जुरी

भारतको सर्वोच्च अदालतले सेन्ट्रेल भिस्टा परियोजनालाई सशर्त अनुमति दिएको छ । यसमा संसद् नयाँ भवनको निर्माण पनि सामेल छ । तीन न्यायाधीशको बेञ्चले २–१ को बहुमतबाट यो फैसाल सुनाएको हो । न्यायाधीश एमएम खनविलकर र दिनेश माहेश्वरी यसको पक्षमा उभिए भने सञ्जिव खन्ना यसको विपक्षमा उभिए । सर्वोच्च अदालतले पर्यावरण मन्त्रालयसँग भविष्यको परियोजनामा स्मग टावर लगाउन भनेको छ । त्यस्तै, पुरातत्व संरक्षण समितिको अनुमति लिन पनि भनिएको छ ।

यस परियोजनाको निर्माणको विपक्षमा रिट दायर गर्नेहरुले परियोजनाको लागि पर्यावरणको मन्जुरी गलत तरिकाले लिएको आरोप लगाएका थिए । त्यस्तै, कन्सलटेन्सी छनौटमा भेदभाव गरेको र जमीनको प्रयोगमा बदलावको मन्जुरी गलत तरिकाले दिएको आरोप लगाएका थिए ।

सेन्ट्रल भिस्टा निर्माणमा विपक्षी दलहरु पनि आक्रामक देखिएका थिए । बजेटमा कमीको कारण राज्यले जीएसजीको बक्यौता नपाएको, स्वास्थ्य बजेटमा १५ प्रतिशत कटौती भएको र अन्य क्षेत्रमा पनि बजेट कटौती भएको अवस्थामा सरकार आफ्नो लागि महल निर्माण गर्न खोजिरहेको उनीहरुको आरोप थियो ।

सेन्ट्रल भिस्टा परियोजनाको घोषणा सन् २०१९ को सेप्टेम्बरमा भएको थियो । यसमा संसदको नयाँ त्रिकोण भवन निर्माण गर्ने योजनामा जसमा लोकसभा र राज्यसभाका ९  सय देखि १२ सय सांसद बस्न सक्नेछन् । यसको निर्माण सन् २०२२ मा हुने ७५ औँ स्वतन्त्रता दिवासमा पूरा गर्ने लक्ष्य लिइएको छ । यसमा केन्द्रीय सचिवालयको निर्माण सन् २०२४ सम्म पूरा हुने भनिएको छ । राष्ट्रपति भवन, हालको संसद भवन, इन्डिया गेट र राष्ट्रिय अभिलेखागारको भवन जस्ताको तस्तै राखिनेछ ।