संसद विघटनविरुद्ध कांग्रेसको देशभर प्रदर्शन
१३ पुष २०७७, सोमबार १५:२३
काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशभर प्रदर्शन शुरु गरेको छ ।
आज सोमवार कांग्रेसले देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन शुरु गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा पुष ५ गते राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा कांग्रेसले देशभर विरोध प्रदर्शन शुरु गरेको हो ।
विरोध प्रदर्शनमा सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने छन् । कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाले भक्तपुरमा गरिने विरोध कार्यक्रमलाई सम्बोधन गर्ने छन् । कांग्रेसले ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै विरोध जनाउँदै आएको छ ।
आज हुने विरोध सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँमा सम्बोधन गर्ने छन् भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले काठमााडौं क्षेत्र नं.१ मा सम्बोधन गर्ने छन् । गगन थापाले नेपालगञ्जमा हुने विरोध कार्यक्रमको सम्बोधन गर्ने छन् । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वरमा हुने सभामा सम्बोधन गर्ने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया