इजरायलका सेना प्रमुखले दिए ईरानमाथि हमलाको चेतावनी – Nagarikabhiyan : National News

इजरायलका सेना प्रमुखले दिए ईरानमाथि हमलाको चेतावनी

एजेन्सी । इजरायलका सेनाप्रमुख अविव कोचावीले ईरानले कुनै पनि हमला गरेमा त्यसको जवाफ शक्तिशाली हमलामार्फत दिइने बताएका छन् । केही समय अघिमात्रै ईरानी परमाणु वैज्ञानिक मोहसिन फकिर जादेहको मृत्यु भएपछि दुई देशीय सम्बन्ध निकै चिसिएको छ । ईरानले आफ्ना वैज्ञानिकको हत्या गरेको आरोप इजरायलमाथि लगाएको छ र त्यसको बदला लिइने पनि जनाएको छ ।

ईरानले सम्भावित हमला गर्ने आशंकाबारे बोल्दै कोचावीले भने, ‘हामी हेर्दैछौं कि भर्खरै इजरायलविरुद्ध ईरानी खतरामा कसरी वृद्धि भएको छ । यदि ईरान, हिजबुुल्लाह वा ईरान समर्थित लेबनानी सशस्त्र समूह र पार्टीहरुले इजरायलविरुद्ध कुनै पनि कारबाही गरेमा त्यो उनीहरुलाई निकै महंगो पर्नेछ ।’

कोवाचीले कुनै पनि कारबाहीको जवाफ दिनका लागि आफु तयार रहेको बताए । ‘म हाम्रा दुश्मनहरुलाई भन्छु कि हामीलाई परीक्षण नगर्नुस्,’ उनले भने । ईरानका शीर्ष परमाणु वैज्ञानिक फकिरजादेहको हत्यामा सेटेलाईट नियन्त्रित स्मार्ट सिस्टमको मेसिनगन प्रयोग गरिएको थियो । यो पुरै प्रणाली आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् स्वचालित थियो । इजरायलले पश्चिमा देशहरुका खुफिया एजेन्सीहरुको सहयोग लिएर यस हत्याको षड्यन्त्र रचेको ईरानले आरोप लगाउँदै आएको छ ।