मकुना हात्ती मार्ने विषयमा छलफल – Nagarikabhiyan : National News

मकुना हात्ती मार्ने विषयमा छलफल

इनरुवा । सुनसरी प्रशासनमा आज जंगली हात्ती मकुना मार्ने विषयमा छलफल हुँदैछ । मकुनाको आतंक बढेको निष्कर्शमा पुगेको सुनसरी प्रशासनले सो विषयमा आज सरोकारवालासँग छलफल गर्न लाग्दै छ । स्थानीय प्रशासन ऐनलाई टेकेर प्रजिअले हिंश्रक हात्ती मार्ने उपरको विषयमा छलफल थालेका छन् । स्थानीय प्रशासन ऐनमा स्थानीय गाउँपालिका, नगरपालिकाले प्रतिवेदन गरेमा सिडियोले जटिलता बुझी महसुस भए कानुनी आधारमा रहेर हिंस्रक जनावरलाई गोली ठोक्न सक्ने अधिकार प्रत्यायोजन गरेको छ ।हात्ती मार्ने विषयमा छलफल थालिएको विषयलाई स्वयं प्रजिअ फणिन्द्रमणि पोखरेलले स्विकारेका छन् । उनले ऐन नियमको परिधि भित्र रही आवश्यक निर्णय लिन सकिने बताए ।

पछिल्लो एक डेढ वर्षको अवधिमा मकुना मात्रैले ९ जनाको ज्यान लिएको बताउने सुनसरी प्रशासनले जनताको जिउधनको सुरक्षाको लागि हात्ती मार्न सकिने सम्मको विषयमा छलफल थालिएको बताएको छ । प्रजिअ पोखरेलका अनुसार स्थानीयले लामो समयदेखि मकुना हात्तीको आतंक सहदै आएका छन् ।पुर्वेलीन्युजमा  छ ।
जनधनको क्षति समेत बढ्दै गएको छ । प्रशासन भन्छ, हात्तीलाई लठ््याएर नियन्त्रणमा लिने देखि अन्य सबै प्रकृया अपनाइएको छ । यद्यपि मकुनाको आक्रमण रोकिएको छैन् । त्यसैले कानुनन रुपमा जटिल समस्याका रुपमा देखिएको हात्तीको आक्रमण रोक्न उसलाई मार्ने बारेमा छलफल अघि बढाइएको हो । कोशी टप्पु बन्यजन्तु आरक्षको कार्यालयसँग समेत समन्वय भएको बताउने प्रजिअ पोखरेलले आरक्षबाट समेत सकारात्मक प्रतिकृया प्राप्त भएको बताए ।

उता आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले पीडित पक्ष, गाउँपालिकाको कार्यालयका साथै स्थानीय प्रशासन र सरोकारवालासँग मिलेर ठोस रणनीतिका साथ अघि बढ्न आरक्षको कार्यालय तयार रहेको बताएका छन् । उनले ऐन नियमको परिधि भित्र रहेर जनताको जिउज्यानको सुरक्षा लगायतको सवालमा अघि बढ्न आरक्षको कार्यालय तयार रहेको बताए । चौधरीले हात्ती आतंकको विषयमा बिभागमा यसअघिनै पत्र लेखिसकेको बताए । उनले जंगली जनावरलाई नियन्त्रणमा लिई खुट्टामा चेन लगाउने वा के गर्ने भन्ने विषय यकिन भने भैनसकेको बताए ।

मकुना हात्तीको आक्रमणबाट हिजो हरिपुरमा स्थानीयको मृत्यु भएपछि गाउँले आन्दोलित बनेका छन् । उनीहरुले मकुना मार्नु पर्ने आवाज उठाएका छन् । दीर्घकालीन समाधान नभएको भन्दै मृतकको परिवारले शवको पोष्टमाटम समेत गरेको छैन । सोही यावत विषयमा आज स्थानीय पीडित, मृतकको परिवार, गाउँपालिका र प्रशासन सहित सरोकारवालाको बैठक बस्दै छ । स्थानीय प्रशासन ऐन मात्र नभई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १० को उपदभा (क)मा बौलाएको जंगली जनावर तोकिएको अधिकारीको आदेशमा मार्न, वा पक्रन सकिने उल्लेख छ । तर कोशी टप्पुको मकुना बौलाएको पुष्टि गर्ने आधिकारिक आधार भने फेला परेको छैन् । पछिल्लो तीन वर्षको अवधिमा कोशी टप्पु आसपासका क्षेत्रमा हात्तीको आक्रमणमा परी २३ जनाले ज्यान गुमाएका छन् ।