संवैधानिक परिषद्को बैठकमा देउवा सहभागि नहुने
२७ मंसिर २०७७, शनिबार १८:०८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएका संवैधानिक परिषद्को बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागि नहुने भएका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान ९ बजे संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा रिक्त पदमा पदपूर्ति गर्ने तयारीका साथै संवैधानिक परिषद्को बैठक बोलाइएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग लगायत विभिन्न संवैधानिक निकायमा गरी ४५ पद रिक्त छन् । नियुक्तिको विषयमा छलफल भएपनि प्रधानमन्त्री र देउवाबीच सहमति जुट्न भने सकेको छैन ।
परिषद्को बैठक बोलाए लगत्तै शुक्रबार प्रधानमन्त्री ओली र विपक्षी दलका नेता देउवाबीच भेटवार्ता पनि भएको थियो । संवैधानिक परिषद्को बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ ।
तर, देउवाले २९ गते सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेको भन्दै त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने सन्देश दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया