हुलाकी सडकमा पर्ने कम्पाउण्डवाल डोजरबाट भत्काइएको
२२ मंसिर २०७७, सोमबार १२:१९
राजविराज । हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र पुराना संरचना धमाधम हटाउन र भत्काउन कार्य थालिएको छ ।
हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले हुलाकी सडकको दायाँ÷बायाँ १५÷१५ मिटर भित्र बनाइएका राजविराज नगर क्षेत्रका भौतिक संरचनाहरुलाई डोजर लगाएर शनिबारदेखी नै भत्काउन शुरु गरिएको छ ।
राजविराज नगर क्षेत्रको राम मन्दिर, हुलाक कार्यालय, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, सप्तरी जिल्ला अदालत लगायतका कार्यालयको कम्पाउण्ड वालहरु भत्काइएको देखिएको छ ।
मधेशको लाइफ लाइने मानिने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका क्रममा अतिक्रमित संरचना आफै हटाउन स्थानीय प्रशासन र स्थानीय तहले समेत सार्वजनिक सूचना मार्फत सहयोगका लागि सबैसँग अनुरोध गरेका छन ।
हुलाकी राजमार्ग निर्माणका क्रममा सिरहा रोडमा केही समस्या देखिएपनि त्यसलाई स्थानीय जनप्रतिनिधि, प्रशासन र सम्बन्धित पक्षबीच छलफल र आपसी सहमतिको माध्यमबाट निकास दिने काम भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर आशुतोष कर्णले जानकारी दिनुभयो ।
हुलाकी राजमार्ग अन्तर्गत हालसम्म १५ कि.मि. सडकमा पहिलो लेयरको कालोपत्रे गर्ने काम समेत सम्पन्न भइसकेको उहाँले बताउनुभयो ।
सप्तरी जिल्लामा कञ्चनपुरदेखि राजविराजसम्म एउटा र राजविराजदेखि बलान विहुलसम्म अर्को खण्ड गरी दुई वटा योजना अन्र्तगत ४६ कि.मि. सडक खण्डमा कुल २२ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म ६ वटा मात्र सम्पन्न भएको छ ।
बाँकी १६ वटा पुल निर्माणकै क्रममा रहेको बताउदै दुवै योजना गरी झण्डै रु २ अर्बमा निर्माण हुने सप्तरी खण्डको निर्माण कार्यको जिम्मा रौता, श्रेष्ठ र दिवा कन्स्ट्रशनले पाएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर कर्णले भन्नुभयो ।
२०७८ बैशाखसम्म हुलाकी सडकको सप्तरी खण्डमा काम पुरा गरिसक्ने लक्ष्य रहेपनि कतै अवरोध र कतै कानूनी लडाईको समस्यासँगसँगै कोरोना महामारीले पनि ढिलाई भएको बताउँदै २०७८ को शुरुवातमा सम्भव नभएपनि २०७८ को अन्त्यसम्मा भने निर्माण कार्य सम्पन्न गरिसक्ने दावी गरिएको छ ।
यस्तै सप्तरीको बोदेबर्साइन नगरपालिकाले पनि हुलाकी सडकको बिसनपुर–स्वर्णपट्टी सडक खण्डमा अतिक्रमण हटाउन सुरु गरेको छ । ।
नगरपालिकाले नगर क्षेत्रको हुलाकी सडक अन्तर्गत बिसनपुर–स्वर्णपट्टी सडक खण्डमा सडक पेट्टीका अतिक्रमण हटाएको स्थानिय लोकेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
सडकपेट्टीमा घर निर्माण सामग्री वालुवा, गिट्टी, छड, काठ, दाउरा लगायत कठघरा (गुम्टी), खाद्यान्न, गुइँठा, ठूलो सवारी साधन, अस्थायी पसलहरु नगरपालिकाले हटाएका छन ।
सडक पेट्टीमा ती सामग्रीहरु महिनौ दिनसम्म राख्दा बाटो नै साँगुरो भइ सवारी सधानलाई गुड्न सास्ती भोग्नु पर्नुकोसाथै सडकलाई नै कुरुप बनाइएको थियो ।
सडकलाई नै अतिक्रमण गरी निजी रुपमा प्रयोग भइरहेको कारण नगरपालिकाले ती अतिक्रमण हटाउन पटक÷पटक सूचना जारी गर्दापनि नगरवासीले अटेर गर्दै आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया