मुख्यमन्त्री राईद्धारा १५ शैय्या अस्पताल भवनको शिलान्यास – Nagarikabhiyan : National News

मुख्यमन्त्री राईद्धारा १५ शैय्या अस्पताल भवनको शिलान्यास

इटहरी ।  इटहरीमा १५ शैय्या अस्पताल भवनको शिलान्यास गरिएको छ । सोमबार एक कार्यक्रम गरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इटहरी  स्थित इटहरी अस्पतालको प्राङ्गणमा नव निमार्ण अस्पताल भवनको शिलान्यास गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री राईले नयाँ सहरको रूपमा उदाएको इटहरीका विकासको हिसाबले अगाडि बढी सकेको बताए । नेपालको इतिहासमा यस्तो कार्यको थालनी पहिलो पटक भएको बताउँदै मुख्यमन्त्री राईले जनताले सङ्घीयता आएको महसुस गर्न पाएको बताए ।

उनले प्रदेश १ भरि ६ महिना सम्ममा करिब १८ वटा सडकको उद्घाटन समेत गर्ने जानकारी दिए ।

ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाको पहुँच पुर्‍याउने उद्देश्यले सङ्घीय सरकारको कार्यक्रम अन्तर्गत १८ करोड ६८ लाख २ हजार मा निर्माण सम्पन्न गरिने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले जानकारी दिए ।

पछिल्लो समय इटहरीमा ठुलो अस्पताल नभएको अवस्थामा यो अस्पतालले इटहरीको विकास तथा बिस्तारमा थप सघाउ पुर्‍याउने मेयर चौधरीको भनाई छ । उनले इटहरीमा स्वास्थ्य क्षेत्रले तीव्र गति लिएको बताए । इटहरीमा हाल सम्म १० वटा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिसकिएको बताउँदै अबको ६ महिना भित्र ५ वटाको पनि शिलान्यास गरिने बताए ।

दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने भनिएका ३९६ वटा आधारभूत अस्पतालहरूमध्ये प्रदेश नं १ मा ८६ वटा बन्दै छ ।
देशभर एकै पटक ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरिएको छ । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु¥याउन सरकारले स्वास्थ्य संस्था नभएका ६४९ वटा स्थानीय तहमध्ये पहिलो चरणमा ५, १० र १५ शैय्याका ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्न गरेको हो ।