सुकुम्वासी दलित परिवारका लागि सुरक्षित भवन निर्माण हुदै – Nagarikabhiyan : National News

सुकुम्वासी दलित परिवारका लागि सुरक्षित भवन निर्माण हुदै

सप्तरी । सप्तरीको एउटा स्थानियतहमा सुकुम्वासी दलित परिवारका लागि सुरक्षित भवन निर्माण भइरहेको छ ।

जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. २ कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका लागि सुरक्षित भवन निर्माण कार्य भइरहेको महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले जानकारी दिनुभयो ।

जमिनमा ढुंगा तथा सिमेन्टबाट घरको सतह उच्च बनाई बाढीको जोखिमबाट समेत सुरक्षा दिनेगरि निर्माण कार्य भइरहेको उहाँले बताउनुभयो ।

महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक चौधरीका अनुसार निर्माण भइरहेको दुई कोठे घरमा भान्सासहित तथा छुट्टै शौचालयको व्यवस्था पनि गर्न लालिएको छ ।

घरको चारैतिरको भित्तामा बाँसको भाटा कलात्मक ढंगबाट जडान गरि टिनको छाना भएको कोठाहरु निर्माण भइरहेको जनाइएको छ ।

विपद्का बेला जोखिमबाट जोगिन अहिले बन्दै गरेको भवन सुरक्षित हुने दाबी गरिएको छ ।

यसैगरि आफ्नै आगनमा बन्दै गरेको सुरक्षित भवन देखेर सप्तरीको शम्भुनाथ नगरपालिका २ कनकपट्टीकी ५० वर्षिया लक्ष्मीदेवी सदाय भनिन्, “अब वर्षा, हावाहुरी तथा अन्य विपद्बाट जोगिन संस्थाले बनाइदिएको नयाँ घरबाट निकै खुशी र हर्षित छु ।”

त्यस्तै सोही ठाउँका धर्मदेव सदायले वर्षेणी बाढीका कारण घरबार छाडेर सुरक्षित स्थानमा भाग्नु पर्ने बाध्यता अब हट्ने सोचेर उनी पनि दंग छन् ।

ह्याविटेट फर हयुमिनिटी तथा शम्भुनाथ नगरपालिकाले आर्थिक रुपमा सहयोगमा सुकुम्वासी दलित परिवारका लागि सुरक्षित भवन निर्माण गरिरहेको उहाँले जानकबारी दिनुभयो ।

कार्यक्रमका मुख्य सहयोगि एवं साझेदार संस्था ह्याविटेट फर हयुमिनिटी नेपालका इन्जिनियर राजिव बर्माले प्रति घर झण्डै रु ३ लाख २५ हजार लागत पर्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

मुख्य साझेदार संस्था ह्याविटेट फर हयुमिनिटि नेपालका प्रतिनिधि रामप्रसाद सिंह दनुवारले सुरक्षित आवासमा सबैको पहुँच पु¥याउने उद्देश्यले यस कार्यक्रमलाई भावी दिनमा सिरहा र धनुषातर्फ पनि बिस्तार गर्ने योजनाका साथ गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

विगत १२ वर्षदेखी आवास क्षेत्रमा काम गर्दै आएको केन्द्रले हालसम्म अतिविपन्न तथा दैवी प्रकोपमा परेका पीडित परिवारका लागि जिल्लाको बिभिन्न नगरपालिका तथा गाउँपालिकामा कुल ४ हजार ३ सय ३५ घर निर्माण गरिसकेको जनाइएको छ ।