भोलि भारतीय विदेश सचिव नेपाल आउँदै, राजनीतिक वार्ताका लागि वातावरण बनाउने विश्वास – Nagarikabhiyan : National News

भोलि भारतीय विदेश सचिव नेपाल आउँदै, राजनीतिक वार्ताका लागि वातावरण बनाउने विश्वास

काठमाडौं ।  नेपाल र भारतबीच ऐतिहासिक रुपमा आपसी सम्बन्ध कमजोर हुँदा करिब एक वर्षसम्म कूटनीतिक मौनता कायम रहेको थियो ।

कूटनीतिक मौनतालाई तोड्दै भोली (बिहीबार) भारतीय विदेश मन्त्रालयका सचिव हर्ष वद्र्धन श्रृंगला काठमाडौं आउन लागेका हुन् ।

उनी विदेश सचिव भएपछि पहिलो पटक नेपाल आउन लागेका छन् । भ्रमण शिष्टाचार भए पनि नेपाल र भारतबीच सीमा विवादका कारण सम्बन्धमा चिसोपना आएको बेला भएकाले महत्वपूर्णरुपमा हेरिएको छ ।

भ्रमणले नेपाल र भारतबीच राजनीतिक तहमा वार्ताका लागि वातावरण बनाउने नेपाली कूटनीतिज्ञहरुको विश्वास रहेको छ । भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले विदेश सचिवको भ्रमणलाई सकरात्मक रुपमा लिनुपर्ने बताएका छन् ।

उनले भने,‘यो भ्रमणले राजनीतिक तहमा वार्ताको ढोका खोल्ने विश्वास गर्न सकिन्छ, शिष्टाचार भ्रमण भए पनि नेपालले आफ्नो चासोका विषय उठान कौशलता देखाउनुपर्ने हुन्छ ।’ प्रतिवेदन तयार भएर पनि भारतले चासो नलिएपछि नेपाल र भारत प्रवुद्ध समूह (ईपीजी)ले तयार पारेको सीमा र विभिन्न सन्धि सम्बन्धी प्रतिवेदन अलपत्र छ ।

नेपाली भूमि भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले पनि नयाँ नक्सा संसदबाट अनुमोदन गर्दै आफ्नो भूमि नक्सामा समावेश गरेको छ । नक्सा विवादका कारण नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना आएको थियो । नेपालका लागि हाललाई ईपीजीको प्रतिवेदन र नक्सा विवाद नै भारतसँग उठाउनुपर्ने सबैभन्दा महत्वपूर्ण विषय भएको पूर्वराजदूत उपाध्यायको भनाई छ । यो समाचार द नेपालटपमा छ ।

भ्रमणलाई शिष्टाचार भनिएकाले यो एजेण्डाका रुपमा उठान हुने सम्भावना कमै रहेको स्रोतको भनाइ छ । नेपालले आफ्नो चासोको विषयलाई वार्तामा प्रवेश गराउन सक्नुपर्ने पूर्वराजदूत उपाध्यायको भनाइ छ । उनले यसअघि रअ प्रमुखसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्नुलाई भने सकरात्मक रुपमा लिन नसकिने बताए ।

उनले कुनै देशको खुफिया एजेन्सीका मानिसहरुसँग प्रधानमन्त्रीले प्रोटोकल मिचेर भेट गरेको बताए । तर, भारतीय सेना प्रमुख जनरल मनोजमुकुन्द नरवणेको भ्रमणले सकरात्मक परिणाम दिने संकेत देखिएको भन्दै त्यसैको परिणाममा विदेश सचिवको भ्रमण हुन लागेको बताए । उनले यो भ्रमणबाट परराष्ट्रमन्त्री स्तरीय वार्ताको वातावरण बन्ने बताएका छन् ।

उनले भने,‘उनीहरु त आउन खोज्छन् तर, कतिबेला बोलाउने भन्ने हाम्रो कुरा हो, आउनेलाई दोष दिन मिल्दैन, समय अलि मिलाएको भए हुन्थ्यो ।’ उनले विश्वराजनीतिमा अहिले अमेरिका र चीन आक्रामक रुपमा अगाडि बढिरहेको भन्दै नेपाल यो एलाइन्समा फस्न नहुने पनि बताए । उनले चीन र भारतसँगको सम्बन्धलाई नेपालले सन्तुलमा राख्न सके मात्र नेपालको हित हुने बताएका छन् ।