तिहार र छठमा हराउँदै गाउँघरको मौलिकता: आधुनिकताको प्रभावले परम्परागत संस्कृति सङ्कटमा
२४ कार्तिक २०८३, सोमबार ०७:४३
देवानगञ्ज । हिन्दू धर्मावलम्बीहरूको महान् पर्वहरू तिहार र छठ पर्व र यसको रमझम गाउँदेखि सहरसम्मै छाउन थालेको छ । तर, समयको परिवर्तनसँगै सुनसरीको देवानगञ्ज गाउँपालिका लगायत मधेस क्षेत्रका विभिन्न गाउँहरूमा यी पर्वहरूले मनाउने परम्परागत मौलिकता भने क्रमशः हराउँदै गएको छ।
केही दशकअघिसम्म गाउँघरमा तिहार र छठ पर्वको बेला देखिने सामाजिक सद्भाव, आपसी सहयोग र माटोको सुगन्ध बोकेका रीतिरिवाजहरू अहिले आधुनिकताको दौडमा ओझेल पर्दै गएका छन्।
केही समयअघिसम्म तिहारको समयमा गाउँघरमा खेलिने देउसी–भैलोमा स्थानीय बाजागाजा (मादल, झ्याली, ढोलक) को प्रयोग र मौलिक गीतहरूको महिमा हुन्थ्यो। घरका गृहिणीहरूले आँगनमा आफ्नै हातले चामलको पिठो र विभिन्न रङ मिसाएर बनाएका कलात्मक राङ्गोली तथा घर लिपपोत गर्ने चलन थियो।
तर, अहिले देवानगञ्ज र आसपासका क्षेत्रहरूमा यी मौलिक परम्पराहरू फेरिँदै गएका छन्। स्थानीय संस्कृतिभन्दा पनि चर्को स्वरका डीजे (DJ) बाजा बजाउने, प्लाष्टिकका तयार गरिएका कृत्रिम फूलका माला र झिलीमिली बिजुलीका बत्तीहरूले माटोको सुगन्ध बोकेका परम्परालाई विस्थापित गर्दै लगेका छन्। पुराना र स्थानीय लोकभाकाका साटो आधुनिक पप तथा फिल्मी गीतहरूले तिहारको सांस्कृतिक महत्वलाई कमजोर बनाउँदै लगेको स्थानीय ज्येष्ठ नागरिकहरूको गुनासो छ।
मधेश क्षेत्रको महान् लोकपर्व छठमा पनि यही किसिमको परिवर्तन देखिन थालेको छ। छठ पर्वलाई प्रकृतिको पूजा र शुद्धताको प्रतीक मानिन्छ, जहाँ बाँसका कोनिया (टोकरी), नाङ्लो, माटोका भाडाकुँडा र स्थानीय रूपमा उत्पादित कृषि उपजहरूको विशेष महत्व हुन्छ।
तर, अहिले बजारमा पाइने प्लाष्टिकका सामग्रीको प्रयोग बढ्दै गएको छ भने पूजाको व्यवस्थापनमा देखासिकी र तामझाम हाबी हुन थालेको छ। छठ घाटहरूमा पहिला जस्तो सामूहिक अपनत्व, आपसी मेलमिलाप र सादगीपन देखिन छोडेको छ। महँगा स्पिकर र आधुनिक सङ्गीतले छठको शान्त र पवित्र वातावरणलाई समेत असर पार्न थालेको स्थानीयहरूको अनुभव छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया