भोटेकोशी बाढी प्रभावितलाई देवानगञ्ज गाउँपालिकाद्वारा साढे १७ लाख बढी सहयोग
१६ भाद्र २०८३, मंगलवार १८:२४
देवानगञ्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्थापनाका लागि सुनसरीको देवानगञ्ज गाउँपालिकाले रु. १७ लाख ५२ हजार २ १३ सहयोग प्रदान गरेको छ।
गत भाद्र १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। विपद्को यस कठिन घडीमा मानवीय दायित्व बोध गर्दै गाउँ कार्यपालिकाको मिति २०८३/०५/१६ गतेको निर्णयअनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूको स्वेच्छिक योगदानबाट सो रकम सङ्कलन गरिएको छ ।
जनप्रतिनिधिहरू (१ महिनाको सेवा सुविधा): रु. ४,५८,०००/-
गाउँपालिका कर्मचारीहरू (१ देखि ५ दिनको तलब): रु. ४,३९,४९९/-
विद्यालय शिक्षक तथा कर्मचारीहरू (१ देखि ५ दिनको तलब): रु. ८,५४,७१४/-
देवानगञ्ज गाउँपालिका परिवारले प्राकृतिक विपद्मा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। विपद्का वेला एकापसमा सहयोग र ऐक्यबद्धता जनाउनु नै सच्चा मानवीय धर्म भएको गाउँपालिकाले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया