देवानगञ्ज गाउँपालिकावासीलाई शिक्षण अस्पतालहरूमा ५० प्रतिशतसम्म छुट: स्वास्थ्य उपचारमा ऐतिहासिक सम्झौता – Nagarikabhiyan : National News

देवानगञ्ज गाउँपालिकावासीलाई शिक्षण अस्पतालहरूमा ५० प्रतिशतसम्म छुट: स्वास्थ्य उपचारमा ऐतिहासिक सम्झौता

​देवानगञ्ज । देवानगञ्ज गाउँपालिकाले पालिकावासीलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले देशका प्रमुख शिक्षण अस्पतालहरूसँग सम्झौता गरेको छ। स्थानीय सरकारको यस विशेष पहलसँगै अब गाउँपालिकाका बासिन्दाहरूले तोकिएका शिक्षण अस्पतालहरूमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने भएका छन्।
​
गाउँपालिका र शिक्षण अस्पतालहरूबीच भएको द्विपक्षीय सम्झौता अनुसार नागरिकहरूले निम्नानुसारको छुट सुविधा प्राप्त गर्नेछन्:
​केएमसी अस्पताल, दुवाकोट (भक्तपुर): ५०% सम्म छुट
​काठमाडौँ मेडिकल कलेज, सिनामंगल (काठमाडौँ): २५% सम्म छुट नोबेल मेडिकल कलेज, विराटनगर: २०% सम्म छुट
​सुविधा पाउने लक्षित वर्ग यो सुविधा नेपाल सरकारको स्वास्थ्य बीमा वा अन्य सरकारी कोषको सुविधा उपभोग गरिसकेका नागरिकहरूका लागि लागू हुनेछ। साथै, स्वास्थ्य बीमा नभएका वा बीमा सक्रिय नरहेका गाउँपालिकाका सम्पूर्ण बासिन्दाहरूले पनि सम्झौता अनुसारको छुट उपभोग गर्न पाउनेछन्।
​
छुट प्राप्त गर्ने प्रक्रिया र आवश्यक कागजात
​गाउँपालिका अस्पताल वा पालिकाको तर्फबाट सिफारिस र पहिचान खुलाउने प्रक्रिया पूरा गरी अस्पताल जाँदा बिरामीहरूले यो छुट प्राप्त गर्न सक्नेछन्। यसका लागि निम्न कागजातहरू अनिवार्य गरिएको छ ।
​देवानगञ्ज गाउँपालिका वा सञ्चालनमा आएपछि गाउँपालिका अस्पतालबाट जारी गरिएको सिफारिस पत्र
​बिरामीको परिचयपत्र वा नागरिकताको प्रतिलिपि
​१६ वर्ष मुनिका बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि
​गाउँपालिकाको यो सम्झौताले विशेष गरी विपन्न, दूरदराजका तथा जटिल रोगको उपचारका लागि काठमाडौँ र विराटनगर धाउनुपर्ने नागरिकहरूलाई ठूलो आर्थिक राहत पुग्ने विश्वास लिइएको छ।