देवानगञ्ज घटना: गृहमन्त्रालय र पीडित रविन्द्र मेहताको परिवारबीच सम्झौता – Nagarikabhiyan : National News

देवानगञ्ज घटना: गृहमन्त्रालय र पीडित रविन्द्र मेहताको परिवारबीच सम्झौता

​देवानगञ्ज । सुनसरीकाे देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रविन्द्र मेहताको परिवार र गृहमन्त्रालयबीच आज सम्झौता सम्पन्न भएको छ। यसअघि सोही घटनाका मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको परिवारसँग गरिएको सम्झौताको नजिरलाई नै आधार मानेर गृहमन्त्रालयमा यो सहमति गरिएको हो।
​
सहमतिअनुसार भोलि बिहान मृतकको शवलाई पोस्टमार्टमका लागि लगिने तयारी गरिएको छ। पोस्टमार्टमको प्रक्रिया अघि बढे पनि शव बुझ्ने विषयमा भने परिवार र पक्षधरहरूले सख्त सर्त राखेका छन्।
​भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले मृतकलाई औपचारिक रूपमा सहिद घोषणा नगरेसम्म शव नबुझ्ने मौखिक सहमति भएको जानकारी प्राप्त भएको छ। मन्त्रिपरिषद्को निर्णय र सरकारको आगामी कदमलाई हेरेर मात्रै अन्त्येष्टिको बाँकी प्रक्रिया अघि बढाउने अडानमा पीडित पक्ष रहेको छ।