देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न र सम्झौता कार्यान्वयन गर्न माग
२५ श्रावण २०८३, सोमबार १७:१४
देवानगञ्ज । सुनसरीको देवानगञ्ज घटनापछि सरकारले पीडित परिवारसँग गरेको लिखित सम्झौता कार्यान्वयनमा ढिलाइ गरेको भन्दै विभिन्न राजनीतिक दल तथा स्थानीय प्रतिनिधिहरूले गम्भीर आपत्ति जनाएका छन्। साेमबार (साउन २५ गते) एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले सम्झौता बमोजिम मृतकहरूलाई तत्काल शहीद घोषणा गर्न र अन्य सहमतिहरू अविलम्ब लागू गर्न सरकारसँग जोडदार माग गरेका हुन्।
सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई शहीद घोषणा गर्ने, क्षतिपूर्ति उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारी दिने र सात दिनभित्र घटनाको निष्पक्ष छानबिन गर्ने स्पष्ट लिखित प्रतिबद्धता जनाएको थियो। तर, लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद्बाट शहीद घोषणा गर्ने लगायतका निर्णय नहुनु सरकारको चरम गैरजिम्मेवारीपन र संवेदनहीनता भएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति अनुसार, काठमाडौँमा उपचारका क्रममा निधन भएका देवानगञ्जका रविन्द्र मेहताको शव एक हप्ता बितिसक्दा समेत अन्त्येष्टि हुन नसकेको अवस्था प्रति गम्भीर दुःख र आपत्ति व्यक्त गरिएको छ। मृत्युपश्चात् सम्मानपूर्वक अन्त्येष्टि गर्न पाउने अधिकारबाट समेत परिवार वञ्चित हुनु गम्भीर विषय भएको र यस्ता ढिलाइले जनआक्रोश बढाएर अप्रिय दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिइएको छ।
पीडितको धैर्यको थप परीक्षा नलिन र परिस्थितिलाई थप जटिल बन्न नदिन सरकारलाई आग्रह गर्दै, माग सम्बोधन नभए गैरजिम्मेवार रवैयाविरुद्ध शान्तिपूर्ण तथा सशक्त लोकतान्त्रिक संघर्षमा उत्रिन बाध्य हुने चेतावनी विज्ञप्ति मार्फत दिइएको छ।
उक्त संयुक्त विज्ञप्तिमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय निर्माण दलका अध्यक्ष समिम मिया अन्सारी, देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता र देवानगञ्ज गाउँपालिका वडा नं. ६ का अध्यक्ष हरिनन्दन मेहताले हस्ताक्षर गर्नुभएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया